पश्चिम नेपालका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा

images
  • 154
    SHARES
  • फाल्गुण १६, २०८१ शुक्रबार
    पश्चिम नेपालका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा
    images

    काठमाण्डौ 

    पश्चिमी वायु सक्रिय हुँदा सुदूरपश्चिम र कर्णाली प्रदेशमा गएरातिदेखि वर्षा भइरहेको छ । यी प्रदेशका धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी पहाडी भू–भागका थोरै ठाउँमा पनि हल्का वर्षा भइरहेको छ ।

    पश्चिम नेपालमा जमिन भिज्ने गरी वर्षा भएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । पछिल्लो १२ घण्टामा बैतडीमा सबैभन्दा धेरै २० दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै बाजुरा, डोटी, डडेलधुरालगायतका जिल्लामा पनि वर्षा भएको छ ।

    मौसमविद् कँडेलअनुसार  काठमाण्डौ उपत्यकासहित देशभर अहिले बादल लागेको छ । दिउँसो पछि काठमाण्डौमा पनि पानी पर्ने सम्भावना छ । तर पश्चिममा भन्दा कम पानी पर्ने उहाँको भनाइ छ ।

    महाशाखाका अनुसार भारतको जम्मू काश्मीर,हिमाञ्चल हुँदै नेपाल भित्रिएको मौसमी प्रणाली आज दिउँसोसम्म काठमाण्डौ आइपुग्ने तर पश्चिमको तुलनामा कमजोर रहने अनुमान छ ।

    यसले मधेशबाहेकका अरु ठाउँमा प्रभाव परे पनि पूर्वमा सामान्य मात्र असर पर्ने मौसमविदले बताएका छन् ।

    मौसमविदका अनुसार भोलि आजभन्दा कम पानी पर्नेछ । भोलि बेलुकादेखि धेरै ठाउँको मौसम क्रमिक सुधार हुँदै जाने महाशाखाले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend