जनकपुरधाम, फागुन १६
जनकपुर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा रु २४ करोड ७३ लाख ६९ हजार राजस्व सङ्कलन गरेको छ ।
कार्यालयको रु ५७ करोड सात लाख १७ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेको छ । चालू आवको वार्षिक राजस्व लक्ष्यको तुलनामा हालसम्ममा ४३ प्रतिशत मात्र राजस्व सङ्कलन भएको कार्यालयका भन्सार अधिकृत रविन्सलाल दासले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालू आवको साउन महिनामा ७७ दशमलव ७८ प्रतिशत, भदौमा ५६, असोजमा ७७ दशमलव ४५, कात्तिकमा ६८ दशमलव ७१, मङ्सिरमा ७६ दशमलव ६०, पुसमा ८६ दशमलव ३१, माघमा ७९ दशमलव ६५ तथा फागुन १५ गतेसम्ममा २५ दशमलव ७९ प्रतिशत राजस्व सङ्कलन भएको छ ।
उक्त भन्सार कार्यालयअन्तर्गत इनरुवा, मैनाथपुर तथा भडडीया छोटी भन्सार कार्यालयसमेत रहका छन् । ती कार्यालयलाई रु पाँच हजारसम्मको भन्सार राजस्व लिने अधिकार रहेको छ । राजस्व सङ्कलन लक्ष्यको तुलनामा कमी हुनुका मुख्य कारण चोरी तस्करी नियन्त्रण नहुनु, आर्थिक मन्दीलगायत रहेको छ । रासस



