काठमाण्डाै –
हरेक पाँच वर्षमा हुँदै आएको गैंडा गणना यो वर्ष नहुने भएको छ । यही ५ गतेदेखि गणना शुरू गर्ने तय भएकोमा आर्थिक अभावका कारण रोकिएको हो । विशेषगरी अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को सहयोग रोकिँदा यस वर्षको गैंडा गणना कार्य प्रभावित भएको छ । दाताको भरमा गैंडा गणना कार्य हुँदै आएको थियो ।
गैंडा गन्न झन्डै डेढ करोड रुपैयाँ खर्च हुन्छ । त्यसमा जीपीएस उपकरण, ल्यापटप, टेन्टलगायतका बन्दोबस्तीका सम्पूर्ण सामग्रीको झन्डै ५० लाख रुपैयाँ खर्च यूएसएआईडीले बेहोर्ने सहमति थियो । सरकारले गैंडाको नियमित अभिलेख राख्न बजेटको व्यवस्था गरेको छैन । यस वर्ष दाताबाट आर्थिक सहायता नपाएपछि गणना कार्य रोकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले बताउनुभयो । सम्भव भएसम्म निकुञ्जका पोस्टमार्फत एक–एक गैंडाको सङ्केतका आधारमा अवस्था पहिचान गर्ने उहाँले बताउनुभयो ।



