काठमाण्डाै –
सांसदहरूले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवा सुविधा दिन लागेको भन्दै विरोध गरेका छन् । प्रतिनिधिसभाकाे आजकाे बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले देशको अर्थतन्त्र सुदृढ नभएको र नागरिकले न्यूनतम आवश्यकताको सुविधा पनि नपाइरहेका बेला पूर्वविशिष्टहरूलाई सुविधा थप्नु गलत हुने बताएका हुन् ।
नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले पूर्वविशिष्ट पदाधिकारीका लागि सुविधा दिन भनेर सरकारले कानून बनाउन लागेको भन्ने समाचार सुनेको भन्दै त्यसबारे सरकारले जवाफ दिनुपर्ने बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का सांसद हितराज पाण्डे र देवेन्द्र पौडेलले पनि सेवा सुविधा बढाउने कुराको विरोध गर्नुभयो । सांसद पौडेलले देश 'ग्रे–लिस्ट' मा परेको र ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गर्ने भ्रष्टाचार सूचकाङ्कमा सुधार नआएका बेला सरकारले पूर्वविशिष्टहरूको सेवा सुविधा बढाउन खोजेको भन्दै विरोध गर्नुभयो ।



