ओदी पाटनमा पशु सेवा कार्यालय स्थापना

images
  • 85
    SHARES
  • आषाढ १, २०७९ बुधबार
    ओदी पाटनमा पशु सेवा कार्यालय स्थापना
    images

    काठमाडाैँ

    जुम्लाको हिमा गाउँपालिका–२ स्थित ओदी पाटनमा पशु सेवा कार्यालय जुम्लाद्वारा भेडा स्रोत केन्द्र स्थापना गरिएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सहयोगमा पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट सञ्चालित भेडा स्रोत केन्द्र स्थापना गरिएको पशु सेवा कार्यालयका प्रमुख गोविन्दबहादुर महतले जानकारी दिए । वडा नं २ स्थित ओदी पाटनमा नमूना भेडा स्रोत केन्द्र सुरुवात गरिएको छ ।

     

    oqv.jpg

     

     उनका अनुसार एक जिल्लामा एक स्रोत केन्द्र बनाउने प्रदेश सरकारको उद्देश्यअनुसार जिल्लामा भेडा पालनलाई स्तर वृद्धि गरी केन्द्र स्थापना गरिएको हो । तीन वर्ष अघि स्रोत केन्द्र स्थापना गर्ने उद्देश्यअनुसार सूचना गरी हिमा–२, ओदी स्थित लामा विष्णु भेडा पालक समूह छनोटमा परेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ । लामा विष्णु भेडा पालक समूहका अध्यक्ष नन्दबहादुर रोकायाका अनुसार अहिले सो स्रोत केन्द्रमा २०० भेडा रहेका छन् । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सहयोगमा दुई भेडा बस्ने ठूला क्षमताका ब्लग, एक कार्यालय भवन र ७०० मिटर घेरबार कार्य सम्पन्न भइसकेको छ ।

     
    पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार चन्दननाथ नगरपालिका स्रोत केन्द्रको डिपिआर रु आठ करोड र अन्य चालु खर्च गरी करिब रु ११ करोडमध्ये तीन आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारबाट रु दुई करोड ८० लाख निकासा भएको छ । इन्जिनियर धर्मराज शाहीका अनुसार डिपिआरमा तीन ठूला आधुनिक भेडा बस्ने भवन र एक प्रशासनिक भवन निर्माण सम्पन्न भइसकेका छन् । सात सय मिटर वरिपरि जालीसहितको घेरबार सम्पन्न भइसकेको छ । उनका अनुसार समूहले पहिलो वर्ष ७० भेडा खरिद गरेको थियो । अहिले बढेर २०० पुगेका छन् ।

     केही भेडा बिक्रीसमेत गरिएको छ । अन्य दुई करिब ५०० भेडा बस्ने क्षमताका भवन, वधशाला निर्माण, खानेपानी, औषधि उपचार, समूहलाई क्षमता अभिवृद्धि तालिमजस्ता कार्यक्रम रहेको इन्जिनियर शाहीले जानकारी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend