काठमाडौं।
पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोट घटनाको अनुसन्धान गर्न गठिन छानबिन समितिले गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ ।
भ्रमण वर्ष उद्घाटनका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् । घटनालगत्तै गृहमन्त्री लेखकले मन्त्रीस्तरको निर्णय गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका थिए ।
समितिले घटनाको विस्तृत छानबिन गरी आगामी दिनमा यसप्रकारका घटना दोहोरिन नदिन पूर्वसर्तकता र अवलम्बन गर्नुपर्ने उपायसहितको प्रतिवेदन मंगलबार गृह मन्त्रालयमा बुझाएको हो । प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले प्रतिवेदनमा उल्लेख भएका विषय कार्यान्वयनका लागि गृहसचिव गोकर्णमणि दुवाडीलाई निर्देशन दिएका छन् ।



