रविन दाहाल
काठमाडौं ।
रक्तदान कार्यक्रमसंगै महिला लघुवित्त संस्थाकले १३ औं विश्व वित्तीय सप्ताह सम्पन्न भएको छ । आइतवार काठमाडौं कालिकास्थानमा रहेको साँस्कृतीक संघको परिसरमा संस्थाले रक्तदान कार्यक्रमसंगै सप्ताहको समापन गरेको हो । जहाँ ३७ जनाले रक्तदान गरेका थिए । संस्थाको सामान्य सेवा विभाग प्रमुख ममिला पौडेलका अनुसार केन्द्रीय कार्यलय सहित काठमाडौं उपत्यकामा रहेको शाखा कार्यलयमा कार्यरत कर्मचारी सहित सदस्यहरुले रक्तदान गरेका थिए ।
चैत्र ४ गतेबाट गण्डकी प्रदेशको पोखरामा बालबालिका र युवाहरुमा वित्तीय पहुँच सम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्दै शुरु भएको सप्ताह अन्तर्गत चैत्र ५ गते कार्णाली प्रदेशको जुम्लामा युवा तथा बालबालिकाहरुको सहभागीतामा वित्तीय सचेतना कार्यक्रम, चैत्र ६ गते कोशी प्रदेशको मोरङमा युवाहरुको सहभागीतामा प्रभातफेरी कार्यक्रम, चैत्र ७ गते लुम्बिनी प्रदेशको बाँकेमा क्याम्पस स्तरिय फुबल प्रतियोगिता, चैत्र ८ गते सुदुरपश्चिम प्रदेशको धनगढीमा अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम, चैत्र ९ गते मधेस प्रदेशको धनुषामा युवाहरुको सहभागितामा टोल सरसफाई तथा वृक्षारोपण कार्यक्रम भएको थियो ।
संस्थाले हरेक मार्चमा ग्लोबल मनी वीक मनाउँदै आएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेका अनुसार यसपटक देशभरका ७ वटा प्रदेशहरुमा वित्तीय साक्षरता तथा समाजिक काम गर्दैै महिला लघुवित्तले सप्ताह मनाएको छ। प्रविधिको विकाससँगै वित्तीय साक्षरता सम्बन्धि सचेतनाको पनि उत्तिकै आवश्यक रहेको भन्दै न्यौपानेले आफूहरुले संस्था मार्फत निरन्तर यस्ता कार्यक्रम गर्दै आएको बताए । ‘युवाहरुसंग जोड्दै यस्ता कार्य गर्न सकियो भने समाजमा पक्कै वित्तीय सचेतना हुन्छ,’ न्यौपानेले भने ,‘हामी सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरुलाई प्राथमिकता दिनेछौँ, युवा ,महिला ,उद्यमी तथा अन्य समुदाय लक्षित कार्यक्रमहरु निरन्तर हुनेछ।’



