काठमाण्डाै
प्रधानमन्त्री केपी शर्मा ओली कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा संसद्मा बोल्न तयार हुनुभएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आउँदो १८ गते अर्थात् सोमवार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने र पर्सि आइतवार बस्ने बैठक सहज रूपमा अघि बढ्ने सहमति भएको जानकारी दिनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठक भने बस्दै नबसी स्थगित भएको छ । बैठक पर्सि आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो । त्यसअघि आज बिहान ११ बजेका बोलाइएको बैठक दिउँसो सवा १ बजे बस्ने गरी संसद् सचिवालयले सूचना टाँस गरेको थियो ।
सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकसँग सभामुख देवराज घिमिरेले छलफल पनि गर्नुभएको थियो । तर सहमति जुट्न नसकेपछि आजको बैठक बस्दै नबसी स्थगित भयो । प्रतिपक्षी दलहरूले विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ माग्दै बैठक अवरुद्ध गर्दै आएका छन् ।



