काठमाण्डाै –
काठमाण्डौ उपत्यकाको हावाको गुणस्तर अति अस्वस्थ अवस्थामा पुगेको छ । केही दिनदेखि नै वायु प्रदूषण बढेको काठमाण्डौमा आज बिहादेखि दिनभर नै अति अस्वस्थ अवस्थामा पुगेको हो ।
वायु गुणस्तर मापन सूचक एक्यूआई दिनभर नै २ सय ६० आसपासमा रहेको काठमाण्डौ वायु प्रदूषण उच्च रहेका विश्वका ठूला शहरको सूचीको पहिलो नम्बरमा रहेको विश्वव्यापी रूपमा हावाको गुणस्तर अनुगमन गर्ने संस्था आईक्यूएअरले जनाएको छ । एक्यूआई २ सयभन्दा माथि पुगेपछि सबै वर्गका लागि अति अस्वस्थ हुन्छ ।
देशका बाँकी भूभागको मौसम सामान्यतया सफा देखिए पनि काठमाण्डाैकाे मौसम खुल्न सकेको छैन । वायुमण्डलमा धूँवा, धूलो भरिएका कारण यहाँको हावा विषाक्त बनेको र घामसमेत राम्ररी लाग्न नसकेको मौसमविद्ले बताएका छन् । हावा प्रदूषित भएकाले आँखा, नाक पोल्ने लगायतका समस्या देखिन थालेको छ ।
देशव्यापी डढेलो, आगलागीको घटना बढेका, ग्रामीण इलाकामा कृषि अवशेष जलाउने क्रम बढेको, गाडीको चापका कारण वायु प्रदूषण बढेको वायु गुणस्तर विज्ञ डा. भूपेन्द्र दास बताउनुहुन्छ ।



