भरतपुर ।
न्युज प्रवाह साप्ताहिकले भित्तेपात्रो प्रकाशन गरेको छ । शनिबार रत्नगर नगरपालिका वडा नं.१५ का अध्यक्ष आशिक तामाङ, नेपाल तामाङ घेदुङ, जिल्ला समन्वय समिति चितवनका अध्यक्ष बाबुलाल थिङ, तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष बिक्रम गुरूङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका अध्यक्ष तुलमान गुरूङलगायतको उपस्थितिमा वर्ष २०८२ को भित्तेपात्रो विमोचन गरिएको हो ।
करिब दुई दशकसम्म चितवनको सञ्चारमाध्यममा काम गरेको अनुभवका आधारमा बबिलाल तामाङले करिब साढे चार वर्ष पहिले न्युज प्रवाह साप्ताहिकको प्रकाशन थालेका थिए । तर, साप्ताहिक पत्रिकाले भित्तेपात्रो प्रकाशनको काम भने पहिलोपटक गरेको पत्रिकाका सञ्चालक एवम् प्रधान सम्पादक तामाङले जानकारी गराए ।
रत्ननगर १५ का अध्यक्ष आशिक तामाङले चितवनमा साप्ताहिक पत्रिकाको नियमित प्रकाशनबाट आफ्नो पहिचान स्थापित गराउने काममा बबिलाल तामाङ सफल भएको बताए । ‘एउटा सञ्चारगृहलाई निरन्तरता दिलाउनको लागि कति सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा त हामीले महसुस मात्रै गर्ने हो । त्यो त गर्नेलाई बढी थाह हुन्छ,’ उनले भने, ‘यो उमेरमा देखिएको सक्रियताले पनि चितवनका तामाङ समुदायको छाती गर्वले फुलेको छ ।’
कार्यक्रममा नेपाल तामाङ घेदुङ चितवनका अध्यक्ष बाबुलाल थिङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका अध्यक्ष तुलमान गुरूङ, तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम गुरूङ, म्हाणिपा आमा समूहकी सचिव पासाङ तामाङलगायतले शुभकामना मन्तव्य दिएका थिए । भित्तेपात्रो विमोचनसँगै नयाँ वर्ष २०८२ को शुभकामना समेत आदानप्रदान गरेका थिए ।



