तराई मधेशका केही ठाउँमा अधिकतम तापक्रम ४० डिग्री नाघ्यो

images
  • 175
    SHARES
  • बैशाख १०, २०८२ बुधबार
    तराई मधेशका केही ठाउँमा अधिकतम तापक्रम ४० डिग्री नाघ्यो
    images

    काठमाण्डाै 

    तराई मधेशका जिल्लामा आज पनि गर्मी उच्च भएको छ । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कानुसार आज रौतहटको गौरसहित केही ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ ।

    तराई मधेशका सबैजसो जिल्लाको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस आसपास वा त्योभन्दा माथि पुगेको छ । अधिकतम तापक्रम बढेसँगै तराई मधेशका धेरै ठाउँमा तातो हावा चलेको स्थानीय बासिन्दाले बताएका छन् ।

    काठमाण्डौको अधिकतम तापक्रम पनि ३२ डिग्री सेल्सियस आसपास पुगेको छ । काठमाण्डौ उपत्यकासहित मध्यपहाडका धेरै ठाउँमा पनि तापक्रम उच्च भएको छ ।

    यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तराईका जिल्लामा केही दिनयता तापक्रम बढेसँगै सतर्कता अपनाउन आग्रह गरेको छ । तापक्रम बढेसँगै मौसम पूर्वानुमान महाशाखाले पनि सतर्कता अपनाउन आग्रह गरेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

    कुनै मनसुन प्रणाली सक्रिय नरहेको, पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव मात्रै देखिएकाले तापक्रम यथावत् रहने र अझै बढ्ने सम्भावना रहेको उहाँको भनाइ छ । केही समय पानी नपरे तातो लहर अर्थात् 'हिट वेभ' को सम्भावनासमेत रहनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने माैसमविद् लामिछानेले बताउनुभयो ।

    प्राधिकरणले चर्को घामबाट बच्नका लागि दिउँसोको समयमा बाहिर ननिस्कन, गर्मी बढाउने खानेकुरा नखान, शीतलमा बस्न र बाहिर निस्कनु परे पातलो कपडा लगाउन अनुरोध गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend