काठमाडौं,बैशाख १०
काश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव आजै नेपाल ल्याइने भएको छ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतीय विदेश मन्त्रालयसँग गरेको पहलपछि उनको शव आजै ल्याइने व्यवस्था भएको हो ।
त्यसैगरी सुनौली बोर्डरबाट बुटवल घरसम्म नै उनीहरूलाई पुर्याउने व्यवस्थाका लागि पनि मन्त्री डा राणाले गृहमन्त्री रमेश लेखकसँग कुराकानी गरेकी छन् । घटनास्थलमा रहेका सुदीपका आफन्तहरूले त्यहाँ बस्न सक्ने अवस्था नरहेकाले आज नै घर फर्किने व्यवस्थाका लागि अनुरोध गरेपछि परराष्ट्र मन्त्रालयले त्यसका लागि समन्वय गरेको हो ।
सुदीप वुटवल–११, कालिकानगर रुपन्देही निवासी हुन् । हिजोको सो आतंककारी हमालाको नेपाल सरकारले कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ ।



