काठमाडौँ, वैशाख १२
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले फेसबुक, म्यासेन्जर, इन्टाग्रामलगायतका प्लेटफर्ममो माउ कम्पनी ‘मेटा’लाई सात दिनभित्र सूचीकृत नभए बन्द गर्ने चेतावनी दिनुभएको छ ।
यसअघि टिकटक, भाइबरलगायत सामाजिक सञ्जाल प्लेटफर्म मन्त्रालयमा सूचीकृत भइसकेका छन् । यसका साथै अन्य सामाजिक सञ्जाल प्लेटफर्मलाई मन्त्रालयमा सूचीकृत हुन मन्त्री गुरुङले अनुरोध गर्नुभयो । सामाजिक सञ्जाल व्यवस्थित गर्न, समाजप्रति उत्तरदायी र जवाफदेही बनाउन सूचीकरण अनिवार्य रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा मन्त्री गुरुङले संसद्मा पास हुने क्रममा रहेको सामाजिक सञ्जालसम्बन्धी विधेयकको अनिवार्यता र महत्वबारे प्रष्ट पार्नुभयो । स्वतन्त्रताका नाममा मुलुकको समाजिक सद्भाव विथोल्ने, अपराधजन्य गतिविधिलाई बढावा दिने, व्यक्तिगत जीवनमा दख्खल दिने, राष्ट्रिय अखण्डता र स्वाधीनतामा प्रहार गर्नेजस्ता क्रियाकलापको नियमन गर्नका लागि सामाजिक सञ्जाल विधेयक आउन जरुरी रहेको उहाँले बताउनुभयो ।
साथै सूचनाको हक नागरिकको मौलिकहकसँगै सुशासन कायम गर्ने महत्वपूर्ण आधार रहेको बताउँदै मन्त्री गुरुङले यसको संरक्षण गर्न राष्ट्रिय सूचना आयोगले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । सूचनाको मागकर्ताले आफ्नो पहिचान र प्रयोजन खुलाएर मात्रै सूचना दिने परिपाठी बसाल्न मन्त्री गुरुङले सुझाव दिनुभएको थियो ।
सूचनाको गलत प्रयोग गर्नेहरु पनि भएकाले सचेत भई सही सूचना प्रवाह गर्न कर्मचारीसमक्ष उहाँले ध्यानाकर्षण गराउनुभयो । “नागरिक र समुदाय सुसूचित हुने खालका सूचना दिनुहोस्, साथै, विचौलियादेखि सावधान पनि रहनुपर्छ”, मन्त्री गुरुङले भन्नुभयो ।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा सुरेशप्रसाद आचार्यले सूचनाको हक लोकतन्त्र, पारदर्शीता र सुशासनका खम्बा भएकाले सूचना दिने र लिने दुवै उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सार्वजनिक सरोकारका विषयमा सूचना दिँदैमा दण्डनीय भइन्छ भन्ने भावबाट मुक्त हुन कर्मचारी र विभागीय प्रमुखलाई आग्रह गर्नुभयो ।
आयोजका आयुक्त गगन विष्टले सार्वजनिक निकायले सूचना दिन सक्षम छैनौँ भन्ने छुट कानुनविपरीत रहेको बताउनुभयो । आयोगका आयुक्त दुर्गा भण्डारी पौडेलले सूचना माग्दा सम्बन्धित अधिकारीले निजी सम्पत्ति दिएजस्तो कठोर भाव नराखी सरल र सहज वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । रासस



