देवघाट,
कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा रम्भा गाउँपालिका १, उत्तरवाहिनी क्षेत्र, पाल्पामा रहेको कालीगण्डकी गुरुकुलको सभाहलमा शनिबार सम्पन्न कालीगण्डकी डाइभर्सन रोकौं गण्डकी सभ्यता बचाऔं विषयक विचारविमर्श सभामा उपस्थित गण्डकीको तल्लो तटीय क्षेत्रमा रहेका १० वटा पालिकाले कालीगण्डकी डाइभर्सन रोक्न ऐक्यवद्धता जनाउँदै संघर्ष समिति नै गठन गरेका छन् ।
गण्डकी प्रदेशका तनहुँ र स्याङ्जामा रहेका देवघाट,रिसिङ् र घिसिङ् गाउँपालिका तथा चापाकोट र गल्याङ् नगरपालिका र लुम्बिनी प्रदेश अन्तर्गत नवलपुरका गैंडाकोट,बुलिङ्टार र निस्ति तथा पाल्पाका वौदिकाली,रामपुर र रम्भा लगायतका पालिकाका प्रमुख तथा उपप्रमुखहरुको विशेष सभाले डाइभर्सन संविधान प्रदत्त प्राकृतिक जलसम्पदाको संरक्षण र उपभोग अधिकारको विरोधी आयोजना भएकाले कुनै पनि हालतमा सञ्चालन गर्न नहुने र नदिने ऐक्यबद्धता गरेको जनाएका छन् ।
ऐतिहासिक महत्त्व बोकेको कालीगण्डकी सभ्यतालाई कसरी संरक्षण गर्ने? भन्ने साझा धारणा र कार्यक्रम बनाउन आयोजित सभामा स्थानीय पालिकाका अतिरिक्त तटीय क्षेत्रका सामाजिक,धार्मिक, शैक्षिक,प्राकृतिक र सांस्कृतिक पक्षमा क्रियाशील संघसंस्थाका प्रमुखहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्यकृष्णको अध्यक्षतामा सञ्चातित कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले डाइभर्सनको विरोध गर्दै कालीगण्डकी सभ्यता संरक्षणको आवश्यकता र महत्त्वबारेमा अध्ययनमूलक विचार प्रस्तुत गरे । ‘नदी वेगेन शुद्धति अर्थात् नदी प्राकृतिक बहाबबाट शुद्ध हुन्छ भन्ने प्राकृतिक तथ्यलाई अवरोध गर्न नहुने धारणा व्यक्त गर्दै डाइभर्सनको बिरोध गरे । थापाले डाइभर्सन रोक्न गण्डकी प्रदेशलेले नेतृत्व लिनुपर्ने र डाइभर्सनको सुरुङ निर्माण गर्ने रम्भा गाउँपालिकादेखि तल्लो तटीय क्षेत्र देवघाट गाउँपालिका सम्मका स्थानीयहरूको आस्था र जीविकालाई संरक्षण गर्नुपर्ने कुरामा जोड दिंदै कालीगण्डकी लुम्बिनीको मात्रै नभएर गण्डकीको मुख्य जलाधार रहेकोले आपसी सहमतिमा मात्र विकास निर्माण अघि बढाउनु पर्ने धारणा व्यक्त गरे ।
सभामा रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले गण्डकीमामाथि बेला बखतमा भोटको राजनीत हुने गरेको, स्थानीय आवश्यकता र महत्व नबुझेका नेताका कारण संसारकै पवित्र गण्डकी सभ्यताको निरन्तरता खण्डित हुने खतरा बढेकोमा खेद व्यक्त गर्दै जस्तोसुकै मूल्य चुकाउन परेता पनि रामपुरवासीले गण्डकी डाइभर्सन हुन नदिने प्रतिवद्धता व्यक्त गरे । चापाकोट, रम्भा,गल्याङ्,गैडाकोट,वौदिकाली, निस्ति र बुलिङ्टारका पालिका प्रमुखहरुले पनि गण्डकी डाइभर्सनले तल्लो तटीय क्षेत्रका जनाताको जीवीकामा नै प्रत्यक्ष प्रहार गर्ने भएकाले अनुपयुक्त रहेकाले खारेज गर्नुपर्ने माग राखे । गण्डकी सभ्यताका अध्येता रामपुर पाल्पाका कृष्णप्रसाद पौडलले विचार पत्र प्रस्तुत गर्दै गण्डकी डाइभर्सनले समग्र कालीगण्डकी बेसीको जैविक र पर्यावरणीय सन्तुलन नै बिग्रिने भएकाले गलत आयोजना भयको निष्कर्ष प्रस्तुत गर्दै डाइभर्सन मात्र नभएर उच्च बाँध पनि बनाउन नहुने विचार व्यक्त गरेका थिए ।
सभामा कालीगण्डकी संरक्षणमा विभिन्न अभियान सञ्चालन गर्दै आएको देवघाटधाममा अवस्थित महेश संस्कृत गुरुकुलका प्राध्यापक फणीन्द्रप्रसाद पौडेलले कालीगणडकी संसारभर फैलिएका सनातनीहरुको आस्थाको केन्द्र भएकाले यसलाई राष्ट्रिय नदीका रुपमा घोषित गरी विश्वसम्पदासूचिमा सूचिकृत गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । उनले गण्डकीलाई धार्मिक महत्त्वका हिसाबले मात्र नभएर सामाजिक, संस्कृतिक, प्राकृतिक र जैविक मूल्यबाट पनि हेरिनु पर्नेमा जोड दिदै त्यसका निम्ति जनस्तरमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । त्यही आवश्यकतालाई पूर्ति गर्न महेश संन्यास आश्रम देवघाटधामको समन्वय र नेपाल सन्त समाजको आह्वानमा आगामी जेठ २२ गतेबाट देवघाटधामदेखि दामोदर कुण्डसम्म पदयात्रा सञ्चालन गरिने बताउँदै उक्त पदयात्रामा आ-आफ्ना क्षेत्रबाट सहयोग गर्न सबैलाई आह्वान गरे । कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष आचार्य चैतन्यकृष्णले गण्डकी सामान्य जलधारा नभएर अमृतधारा भएको र यसको संरक्षणमा आफूँ र आफ्नो संस्था अन्तिमसम्म पनि लडिरहने प्रतिबद्धता गर्दै गण्डकीलाई संसारभर चिनाउन आगामी कार्तिकमा बृहत् गण्डकी धार्मिक मेला आयोजना गरिने जानकारी गराउँदै सहयोग गर्न अनुरोध गरे । सभाले डाइभर्सनलाई रोक्न पूर्व सांसद शङ्करप्रसाद पाण्डेको संयोजकत्त्वमा तटवर्ती पालिकाका प्रमुख सदस्य रहेको ११ सदस्यीय संषर्ष समिति गठन गरेर अब उप्रान्त समितिको संयोजनमा विरोधका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । यस अघि गण्डकी डाइभर्सनका विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले आयोजना कार्यान्वयनको बाटो खुल्ने गरी फैसला गरेकोमा त्यसलाई कानुनी परामर्श पछि पुनरावलोकनको पक्षमा कानुनी उपचार खोज्ने निर्णय समेत गरेको छ ।



