२० वैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम उद्देश्यविहीन रहेको टिप्पणी गरेका छन् । सरकारको नीति तथा कार्यक्रम–२०८२ को बारेमा रिपोर्टर्स क्लब नेपालले दलका नेताहरुसँग राखेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता शाहीले सरकारको नीति तथा कार्यक्रम केपी शर्मा ओलीको ‘पानी जहाज’ जस्तै अस्पष्ट रहेको बताएका हुन् ।
‘अहिलेको नीति तथा कार्यक्रम केपी शर्मा ओलीको पानी जहाज हो । पानी जहाज, रेल, हावाबाट विजुली, घर–घरमा ग्यासको पाइपजस्तै नीति तथा कार्यक्रम हिजो आयो । हामीले त्यसलाई स्पष्ट भनिसक्यौं– पुरानो ढर्राको, च्यातिएको कागजजस्तो, टोले गुण्डाहरुले आफ्नो क्षेत्र निर्धारण गर्नका लागि बनाएको सम्झौताको खोस्टोजस्तो,’– उनले भने ।
अहिलेको नीति तथा कार्यक्रमले सरकारको गलत कामको विरोध गर्नसमेत नपाइने भनेको उनले बताए । सरकारमा रहेका दलहरुले नीति तथा कार्यक्रममा देशको आर्थिक नीतिको बारेमा कुरा नगरेर राजनीतिक भाषा प्रयोग गरेको उनको आरोप छ । नेता शाहीले युवालाई रोजगारी दिने भनिए पनि के आधारमा उनीहरुलाई रोजगारीको व्यवस्था गरिने भन्ने प्रष्टता नरहेको बताए ।



