देवघाट,
देवघाट गाउँपालिकाको आयोजना तथा सामाजिक बिकास कार्यालय दमौलीको समन्वयमा हिजोबाट सुरु भएको दुई दिने बालमैत्री स्थानीय शासन सम्बन्धी तालीमको आज एक कार्यक्रम बीच सम्पन्न भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले सहभागी प्रशिक्षार्थीहरुलाई बालबालिका समाजको लिडर भएको हुँदा टोलटोलमा बालमैत्री बाताबरण निर्माण गर्न सकृय हुनुपर्ने बताउनुभयो । साथै उहाँले बाल बिवाह, बालमजुर तथा बाल स्वास्थ्य सम्बन्धि कतिपय सुचक पूरा गर्न वडा समिती, वडा स्तरीय बालमैत्री समिती,स्वास्थ्य क्षेत्र र विद्यलय सक्रियतापुर्वक लागेर गाउँपालिकालाई बालमैत्री बनाउने आधार तयार गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो।

बाल अधिकार सम्बन्धी महासन्धि CRC १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघबाट पारित भएपश्चात यस महासन्धिलाई विश्वका धेरै राष्ट्रहरुले पक्ष राष्ट्रको रुपमा अवलम्बन गरेका छन् । नेपालले पनि सन् १९९० सेप्टेम्वर १४ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा सो महासन्धिलाई अनुमोदन गरेको हो । बालअधिकारका आधारभूत सिद्धान्तको रुपमा भेदभावरहित, सर्वाेत्तम हित, दीर्घजीवन र विकास साथै विचार र भावनाको कदर जस्ता सिद्धान्तलाई समेट्दै ५४ वटा धाराहरु रहेका छन् ।

कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष टेकबहादुर आलेमगर,देवघाट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदीप बुढाथोकी लगायतले मन्तव्य राखेका थिए।
उक्त कार्यक्रममा देवघाट १ वडा अध्यक्ष मनिराज गुरुङ,देवघाट ४ वडा अध्यक्ष मित्रलाल गुरुङ, सामाजिक बिकास कार्यालय दमौली तनहुँका प्रमुख बिदुरहरी आचार्य ,सामुदायिक विद्यालयका प्रधानाध्यापक एवं स्वास्थ्य क्षेत्रका प्रमुखहरुको सहभागिता रहेको थियो।भने देवघाट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ लामिछानेको अध्यक्षतामा कार्यक्रम भएको थियो।



