देवघाट,
देवघाट गाउँपालिकाको आयोजनामा तीन दिने सहकारी संस्थाका पदाधिकारी एवं ब्यवस्थापकहरुलाई सहकारिता तथा सहकारी सम्बधी व्यवस्थापन सूचना (कोपोमिस) तालिमको आज एक कार्यक्रम बीच गाउँपालिकाको सभा हलमा समापन भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले २१ औँ शताब्दीमा मुलुकको विकाससँगै प्रविधिको विकास आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नु भयो, “यस्तो अनलाइनको प्रयोगसँगै रेकर्ड पारदर्शी र जवाफदेही हुने मैले विश्वास लिएको छु ।” अध्यक्ष थापाले आन्तरिक नियन्त्रण पद्धतिलाई स्थापित गर्दै सुशासन कायम गराउन यो प्रविधिको विकासले मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रममा देवघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतले सहकारी क्षेत्रको सूचना, तथ्याङ्कलाई नियमित, विश्वसनीय, वास्तविक बनाउन यो प्रविधिले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यो प्रविधिको विकाससँगै सहकारी तथा गरिबीको योजना बनाउँदा रेकर्ड हेरेर योजना बनाउन सकिने बताउनुभयो।
सो तालीम यहीँ जेठ २ गते बाट आज ४ गते सम्म सञ्चालन भएको थियो भने,गाउँपालिका भित्र सञ्चालनमा रहेका सहकारी संस्थाका पदाधिकारी एवं व्यवस्थापकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा गाउँपालिका कार्यक्रम शाखा अधिकृत कृष्णराज पन्त,सहकारी प्रशिक्षक योगमणी पाण्डेयलगायतको सहभागिता रहेको थियो।



