काठमाण्डाै खानेपानीमन्त्री प्रदीप यादवले सिंहदरबारमा मेलम्चीको खानेपानी वितरण कार्यको शुभारम्भ गर्नुभएको छ । आज एक कार्यक्रमकाबीच मन्त्री यादवले सिंहदरबारभित्र मेलम्चीको खानेपानी वितरण कार्यको शुभारम्भ गर्नुभएको हो ।
आजदेखि विधिवत् रूपमा शुभारम्भ गरिएको मेलम्चीको पानी अब सिंहदरबारका सबै मन्त्रालय एवम् कार्यालयहरूमा वितरण गरिने मन्त्री यादवले बताउनुभयो । यसैगरी मन्त्री यादवले मेलम्चीको पानी वितरण शुरू भएपछि अबदेखि सिंहदरबार क्षेत्रभित्र प्रयोग हुँदै आएको जार र बोतलको पानी विस्थापित गरिने बताउनुभयो ।
सिंहदरबारभित्र रहेका सम्पूर्ण मन्त्रालय तथा कार्यालयमा मेलम्चीको पानी पुर्याउनका लागि पाइप लाइनको विस्तार गरिने उहाँको भनाइ थियो । मन्त्री यादवले धाराबाट आएको मेलम्चीको पानी सीधै पिएर वितरण कार्यको औपचारिक शुरुआत गर्नुभएको थियो ।



