महिला सशक्तिकरणको नयाँ अभ्यास:महिलाहरुलाई मादल बजाउने तालिम सम्पन्न
देवघाट,
गाउँपालिका सिटि हलमा देवघाट महिला सञ्जालको आयोजन तथा देवघाट गाउँपालिकाको आर्थिक सहयोगमा महिला सशक्तिकरणको नयाँ अभ्यास स्वरुप १० दिने मादल बजाउने तालिम सम्पन्न भएको छ ।यहीँ बैशाख २८ गते बाट सुरु भएको तालीम जेष्ठ ६ गते मंगलबार समापन गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले महिला सशक्तिकरण र परम्परागत सिपको जगेर्ना गर्नका लागि उक्त तालिमले टेवा पुर्याउने बताउनुभयो। साथै उहाँले भन्नु भयो, “मादल बजाउने सीप परम्परागत भए पनि आधुनिक गीत, संगीत र उपकरणका कारण नयाँ पुस्ताले भुलिसकेको अवस्थामा हामीले तालिम सञ्चालन गरेका हौँ । यसले कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन हुनुका साथै स्वरोजगारका अवसर सृजना हुने विश्वास लिएका छौँ”,।
तालिममा करिब ३० जना महिलाहरुको सहभागिता रहेको थियो । १०दिन सम्म सञ्चालन भएको तालिमलाई हरिस्चन्द्र थापाले सहजीकरण गर्नुभएको थियो । आफ्नो जिवनमा नौलो किसिमको तालिमको अनुभव मिलेको भन्दै तालिममा सहभागीहरुले गाउँपालिकालाई धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा देवघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेत,देवघाट ५ वडा सदस्य बुद्धिबहादुर पाण्डे,गाउँपालिका प्रशासन शाखा अधिकृत गोविन्दप्रसाद पौडेल,गाउँपालिका लेखा शाखा अधिकृत सरद न्यौपाने, गाउँपालिका योजना शाखा अधिकृत रामप्रसाद सापकोटा, गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्त एवं विभिन्न महिला संघ,संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने महिला सञ्जालका अध्यक्ष राधादेवी खनालको अध्यक्षतामा कार्यक्रम भएको थियो।



