दार्चुला –
दार्चुलाको अपी हिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय बन्द गरिएका छन् । यार्सागुम्बा सङ्कलनका लागि गाउँपालिका क्षेत्रका शिक्षक, अभिभावक र विद्यार्थी लेक गएपछि विद्यालय बन्द गरिएका हुन् ।
अपी गाउँपालिकाको शिक्षा शाखाका अधिकृत वीरेन्द्रसिंह साउदले यार्सा सङ्कलनको याम शुरू भएकाले गएको जेठ ४ गतेदेखि पालिकाभरिका विद्यालय २० दिनका लागि बन्द गरिएको जानकारी दिनुभयो ।
बर्खे बिदाबाट मिलान गर्नेगरी अहिले विद्यालय बन्द गरिएका र यही जेठ २४ गते खुला हुने उहाँले जानकारी दिनुभयो । जडीबुटी सङ्कलन गर्ने याम भएकाले हरेक वर्ष यो बेला धेरैजसाे विद्यालय बन्द हुने गरेका छन् ।
गाउँपालिकाभरिका २४ सामुदायिक विद्यालयमा अध्यननरत धेरैजसो विद्यार्थी यार्सालगायत अन्य जडीबुटी सङ्कलनका लागि अभिभावकसँगै लेकतिर जाने गरेका छन् ।
अपी हिमाल गाउँपालिका–२ का स्थानीय गगनसिंह लोथ्यालले यार्सागुम्बा सङ्कलन गरेर छोराछोरी पढाउन र अन्य आवश्यकता पूर्तिका लागि आर्थिक जोहो गर्न हरेक वर्ष लेक जानुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । यार्सागुम्बा नै वर्षभरिको मुख्य कमाइको स्रोत रहेको उहाँको भनाइ छ ।



