उपचारपछि घर फर्किए गोपीलाल आलेमगर, सबैको सहयोगले खुसी

images
  • 253
    SHARES
  • जेठ २२, २०८२ बुधबार
    उपचारपछि घर फर्किए गोपीलाल आलेमगर, सबैको सहयोगले खुसी
    images

     देवघाट ।

    देवघाटका ३८ वर्षीय गोपीलाल आलेमगर उपचारपछि घर फर्किएका छन् । गत आइतबार अस्पताल भर्ना भएका मगर उपचारपछि मङ्गलबार घर फर्किएका हुन् ।

    विगत तीन वर्षदेखि उपचार नपाएका मगरको उपचारमा देवघाट गाउँपालिका र भरतपुरस्थित एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरले उपचारमा सहयोग गरेपछि उनको उपचार सम्भव भएको हो । कमाउनका लागि केही वर्षपहिले खाडी गएका मगर आफैँले चलाएको सवारी दुर्घटनामा परी घाइते भएका थिए ।

    बायाँ हातमा गम्भीर चोट लागेका उनको आर्थिक अभावका कारण पूरा उपचार हुन नसक्दा पीडा सहेर बस्न बाध्य थिए । देवघाट गाउँपालिका वडा नं–३, गोन्द्राङ्ग घर भएका मगरको उपचारमा आर्थिक समस्या भएको https://bihanimedia.com र चितवन पोष्ट दैनिकमार्फत जानकारीमा आएपछि देवघाट गाउँपालिकाले उपचारमा सहयोग गर्ने भनी कार्यपालिका बैठकले नै निर्णय गरेको थियो ।

    एलाइभ हस्पिटलले आधा छूटमा उपचार गराउन सक्ने भएपछि अस्पतालमा बुझाउनुपर्ने आधा रकम गाउँपालिकाले उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले जानकारी दिए । आफ्नै पालिकाभित्रका जनता कोही उपचार नपाएर मर्न बाध्य नहून् भन्ने उद्देश्यका साथ गाउँपालिकाले स्थानीय सरकार भएको महसुस गराउन पनि विपन्न नागरिकको स्वास्थ्योपचारमा ध्यान दिएको उनको भनाइ छ ।

    देवघाट गाउँपालिकाभित्र आर्थिक अभावकै कारण उपचार नपाएका र उपचार सम्भव हुने बिरामीका लागि सम्बन्धित अस्पतालसँगको सहकार्यमा गाउँपालिकाले पनि सहयोग गर्दै आएको अध्यक्ष मगरले दाबी गरे । उनका अनुसार गोपीलाल आलेमगरको उपचारमा पनि गाउँपालिकाले विपन्न नागरिकको उपचारका लागि ५० हजार रूपैयाँ सहयोग गरेको हो ।

    उपचारमा संलग्न एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरका प्रमुख एवम् वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. प्रमोद लामिछानेका अनुसार आवश्यक उपचार नपाउँदा घाउमा सङ्क्रमण भइसकेको थियो । र, चोट लागेको हातको कुहिनाभन्दा तल्लो भाग काम नगर्ने अवस्थामा रहेको हुँदा त्यसलाई फालेर उपचार गरिएको उनले बताए ।

    उपचार पाएपछि गोपीलाल आलेमगर खुसी छन् । स्थानीय सरकार आएको लामो समयपछि नागरिकको दुःखमा साथ दिएको महसुस भएको उनले बताए । ‘अस्पताल र गाउँपालिकाबीचमा समन्वय गर्ने काममा लाग्नुभएका सबैप्रति आभारी छु । ढिलै भए पनि गाउँपालिका र अस्पतालबाट सहयोग पाइयो’, उनले भने, ‘लामो समय पीडा सहेर बसे पनि एकदिन भगवान्ले हेर्दा रहेछन् भन्ने महसुस गराएको छ ।’

    एलाइभ हस्पिटलले यसअघि पनि देवघाटकै ११ वर्षीय रामबहादुर भुजेलको शतप्रतिशत छूटमा उपचार गराएको थियो । उनी अझै पनि अस्पतालको निगरानीमै छन् । उनी पनि हात भाँचिएर हड्डी नै बिग्रिएपछि उपचारका लागि https://bihanimedia.com र चितवन पोष्ट दैनिकमा आएको समाचारकै माध्यमबाट एलाइभ आइपुगेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend