रबिन दाहाल काठमाडौं, जेठ ३०, २०८२
गोरखाली मौलिक संस्कृति, भाषा र पहिचानलाई समेट्ने नयाँ लोकदोहोरी गीत ‘गोरखा सिरानचोक केरावारीमा’ शुक्रबार काठमाडौंको खरीबोटस्थित मदर्स ब्याङ्क्वेट हलमा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ। उक्त गीत गोरखा केरावारी काठमाडौं सम्पर्क समाजको प्रस्तुति स्वरूप निर्माण गरिएको हो। गीतमा चर्चित गायिका शान्तिश्री परियार र गायक चिजी गुरुङको सशक्त स्वर सुन्न सकिन्छ। शब्द रचना सुजन रेग्मीले गरेका छन् भने संगीत संयोजनमा बीबी अनुरागीले योगदान दिएका छन्।
भिडियो निर्देशन डिप गुरुङले गरेका छन्। भिडियोमा सुधीर श्रेष्ठ, लक्ष्मी गुरुङ र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ। छायांकन बिजया लामा, मेकअप एनाह गुरुङ, पहिरन डिजाइन हेमा गुरुङ, र सम्पादन तथा ग्राफिक्स बिष्णुहरी तिमल्सिनाद्वारा गरिएको हो। गीतको मिक्सिङ र मास्टरिङको जिम्मेवारी श्याम स्वेत रसाइलीले निर्वाह गरेका छन्। गीत Jyoti Productions को ब्यानरमा निर्माण गरिएको हो र Namaste Gorkha युट्युब च्यानलमार्फत चाँडै सार्वजनिक गरिने जानकारी आयोजकले दिएका छन्।
कार्यक्रममा आर्थिक, भावनात्मक र सांस्कृतिक रूपमा सहयोग पुर्याउने व्यक्तित्वहरूलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो। गीतका सर्जक सुजन रेग्मीका अनुसार, “यो गीत मेरो जन्मभूमि गोरखा केरावारीप्रतिको श्रद्धा, माया र सम्झनाको स्वरूप हो। गोरखाली पहिचान, इतिहास र भावनालाई समेट्ने प्रयास गरेका छौं।” गोरखाली समुदायको संस्कृति, वेशभूषा, रहनसहन र सामुदायिक चेतनालाई गीतमार्फत उजागर गर्ने उद्देश्यले निर्माण गरिएको यो लोकगीतले नेपाली सांगीतिक क्षेत्रलाई पनि सशक्त सन्देश दिने विश्वास गरिएको छ।



