देवघाट ।
कोटा कालिकाटारका विनोद गुरूङ बल्ल २२ वर्षका भए । देवघाट गाउँपालिका वडा नं–३, छिपछिपेबाट उनका हजुरबा कोटा झरेका हुन् । विनोदका बा उतै जन्मिए, उतै हुर्किए । हजुरबाले छाडेको गाउँ फर्किने मेसो बाले गरेनन् । विनोद भने अहिले गाउँ फर्किने अभियानमा छन् । पुर्खाको गाउँमा लटरम्म सुन्तला फलेको देखेपछि विनोदलाई पनि गाउँ फर्किन मन लाग्यो ।
अहिले उनी खेताला ल्याएर सुन्तलाको बगैँचा निर्माणमा लागेका छन् । गाउँभरि सुन्तला फलाएर राम्रो आम्दानी गरेको देखेपछि उनले पुरानो खोरियालाई सुन्तलाको बगैँचा बनाउने तयारी गरेका छन् । हालै दुई दिन लगाएर करिब ७० वटा सुन्तलाको बिरूवा लगाउने खाल्डो तयार पारेका छन् । यतिखेर बनाएको खाल्डोमा असार अन्तिम साता बिरूवा रोप्ने उनले बताए ।
‘यसपटक ७० वटाजति बिरूवा रोप्ने योजना बनाएको छु’, उनले भने, ‘गत वर्ष रोपेको बिरूवा हुर्किन थालेको छ ।’ विनोदले गत वर्ष पनि ६० वटा बिरूवा लगाएका थिए । ‘अरुले यस्तै भिरालो जमिनमा सुनौला दाना फलाएर आम्दानी गरिरहेका बेला हामीले पनि आम्दानी गर्न सकिन्छ कि भनेर प्रयास गरेका हौँ’, विनोद भन्छन्, ‘जङ्गल बढेर काम नलाग्ने बनाउनुभन्दा भिरालो जमिनलाई सदुपयोग गर्ने प्रयास गरिएको हो ।’
विनोदको योजना विदेश जाने नै हो । तर, सुन्तलाको बिरूवा लगाइराखेपछि बाआमालाई गाउँ फर्काउन सकिन्छ कि भन्ने पनि उनलाई लागेको छ । ‘सुन्तला लगाइदिएपछि बेला–बेलामा स्याहारसुसारका लागि भए पनि गाउँ फर्किनै पर्छ’, उनी थप्छन्, ‘यसो गर्दा बाआमालाई गाउँको माया पनि हुने र आम्दानी पनि बढाउन सकिने देखेर सुन्तलाखेतीमा हात हालेको हुँ ।’ यसवर्ष उनले प्रतिबिरूवा १५० रूपैयाँका दरले खरिद गरिसकेका छन् ।
गत वर्ष लगाएको सुन्तलालाई पनि गोडमेल गरेका छन् । दुई वर्ष लगाएर रोपेको बिरूवाले उत्पादन दिन थाल्यो भने हालको मूल्यअनुसार पनि वार्षिक पाँचदेखि छ लाख रूपैयाँसम्म आम्दानी गर्न सकिने उनले बताए । ‘अहिले रोपेको बिरूवाले पाँच–छ वर्षपछि उत्पादन दिन थाल्छ’, उनले भने, ‘राम्रो उत्पादन दियो भने हालको मूल्यअनुसार पनि वार्षिक पाँच–छ लाख रूपैयाँ आम्दानी हुने अनुमान छ ।’ भएको जमिनमा पछि बढाउँदै लैजाने योजना रहेको उनले बताए ।
त्यसो त, देवघाट गाउँपालिका सुन्तलाको खानी नै हो । वडा नं–१, २, ३ र ४ मा वार्षिक करोडौँको सुन्तला उत्पादन हुने गरेको छ । गत वर्ष वडा नं–३ को ल्हुङ्ग्रीङबाट मात्रै ५० लाख रूपैयाँभन्दा बढीको कारोबार भएको थियो । वडा नं–३ कै छिपछिपेमा पनि सुन्तलाका लागि राम्रो हावापानी छ । त्यसकारण उहिल्यै गाउँ छाडेकाहरुको पछिल्लो पुस्ता पनि गाउँमा सुन्तला लगाउन फर्किएका छन् ।
स्थानीय आशकुमार गुरूङका अनुसार विनोदले फाँडेको खोरिया २०५३ सालपछि पहिलोपटक फाँडिएको हो । २०५३ सालभन्दा पहिले पटकपटक फाँडेर मकै लगाउने गरिन्थ्यो । करिब तीन दशकसम्म बढेको जङ्गल यसवर्ष फाँडेर सुन्तला रोप्ने तयारी गरेको हो ।



