सरकारले सकेसम्म सन्तुलित रूपमा बजेट ल्याएकाे छ : प्रधानमन्त्री ओली

images
  • 194
    SHARES
  • आषाढ १०, २०८२ मंगलबार
    सरकारले सकेसम्म सन्तुलित रूपमा बजेट ल्याएकाे छ : प्रधानमन्त्री ओली
    images

    काठमाण्डाै –

    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सकेसम्म सन्तुलित रूपमा बजेट ल्याएको अवगत गराउँदै आउँदा दिनमा माग र आपूर्तिबीचको सन्तुलत कायमका लागि थप प्रयास गरिने बताउनुभएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका विभिन्न निकायसँग सम्बन्धित छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राज्यको पर्याप्त क्षमता नहुँदा बजेटमाथि सबै सांसदहरू सन्तुष्ट हुने स्थिति नआएकाले आउँदा दिनमा सन्तुलन कायमको प्रयास गरिने बताउनुभयाे ।

    ‘हामीलाई छिटो र धेरै ठाउँमा विकास चाहिएको छ तर बजेट कम छ । त्यस कारण बजेटमा सबै सांसद सन्तुष्ट हुन नसक्ने स्थिति हुन सक्छ । माग र आपूर्तिको असन्तुलन मिलाउन आउँदा दिनमा ध्यान दिइनेछ’, उहाँले भन्नुभयो, ‘हामीलाई लगानीको आवश्यकता छ, यसका लागि निजी क्षेत्र र वैदेशिक लगानी ल्याउनुपरेको छ । लगानीको आवश्यकता, विश्लेषण र योजनाका लागि लगानी बोर्डबाट प्रभावकारी काम गरिनेछ ।’

    प्रधानमन्त्री ओलीले संसद् नागरिकको बलिदान, सङ्घर्ष र सपनालाई साकार पार्ने थलो भएकाले सदनमा लोकतन्त्र र राष्ट्रियतालाई कमजोर बनाउने खालका हल्काफुल्का टिप्पणी नगर्न आग्रह गर्नुभयो । उहाँले विद्यमान व्यवस्थालाई अझ प्रभावकारी बनाउने गरी संविधानको संशोधनमा सरकार लाग्ने भएकाले संविधान र प्रणालीको अपमान हुने खालका कुरा नगर्न आग्रह गर्नुभयो ।

    ‘यो प्रणाली र संविधानको रक्षा गरौँ । यसको कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य पूरा गर्ने सवालमा सरकार अघि बढेको छ । यसमा सबै ढुक्क भए हुन्छ’, उहाँले भन्नुभयो, ‘ममाथि गरिएको गाली र अपमान सहन्छु तर शहीद, नागरिकको बलिदान र विद्यमान व्यवस्थाप्रतिको अपमान सहन्न । संसद् नागरिककाे बलिदानको धज्जी उडाउने र प्रणालीको अपमान गर्ने थलो हुन सक्दैन ।’

    प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोगका योजना बैंकको व्यवस्था गरी ३ कराेड रुपैयाँभन्दा कमका आयोजना नराखिएको नीति तर्जुमा गरिएको जनाउँदै आउँदा वर्षमा यसको प्रभावकारी कार्यान्वयनका लागि जोड दिइने बताउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend