चितवन, असार २३-
एक वर्षअघि आजकै दिनबाट सर्वसाधारणका लागि खुला गरिएको दियालो बङ्गलामा ६३ हजार ४४८ जनाले अवलोकन गरेका छन् । जसबाट रु ५३ लाख १६ हजार ८५० राजस्व सङ्कलन भएको जनाइएको छ ।
प्रमुख दाहालले दियालो बङ्गलाको ऐतिहासिक महत्व भएकाले यहाँ अध्ययन तथा घुम्न आउनेहरुको सङ्ख्या दिनानुदिन बढ्दै गएको बताउनुभयो । तत्कालीन समयमा जाडो महिनामा राजपरिवारले यही दरबारमा धेरै समय बिताउने गरेका थिए । यो राजपरिवारले सिकार खेल्न आउँदा बस्ने ठाउँ पनि हो । दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा तत्कालीन राजाहरु महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ । भ¥याङमा विसं २०२६ मा राजा महेन्द्रले शिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ भने बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ ।
दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् । एक नम्बर खोपी मुमा रत्नराज्यको हो भने २ नंम्बर राजा र ३ नंम्बर रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यका हुन् । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले जस्ताको तस्तै राखिएको छ । दरबारको छेउमा महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडिसी क्वार्टर छ । केही पर सवारीसाधन राख्नका लागि ग्यारेज छ ।
महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले चितवन घुम्न आउने पर्यटकका लागि बसाइ लम्भ्याउन दियालो बङ्गला सहयोगी भएको बताउनुभयो । चितवन हुँदै राजधानी भित्रिने र बाहिरने एवं जिल्ला हुँदै यात्रा गर्ने जो कोहीका लागि सहज पर्यटकीय गन्तव्य दियालो बङ्गला बनेको अधिकारीको भनाइ छ ।रासस



