रसुवाको ल्हेन्देखोलामा अकस्मात आएको बाढीमा बेपत्ताको खोजी चल्दै

images
  • 319
    SHARES
  • आषाढ २६, २०८२ बिहीबार
    रसुवाको ल्हेन्देखोलामा अकस्मात आएको बाढीमा बेपत्ताको खोजी चल्दै
    images

    काठमाण्डौ 

    अस्ति मङ्गलवार नेपाल–चीन सिमानाका भएर बग्ने रसुवाको ल्हेन्देखोलामा अकस्मात आएको भीषण बाढीमा परी बेपत्ता भएका १९ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    बाढीमा परी ज्यान गुमाएका नौमध्ये आठ जनाको शव सङ्कलन गरी काठमाण्डौ ल्याइएको छ । प्रहरीका अनुसार अहिले भेटिएको शव त्यही बेपत्तामध्येको हो कि होइन भनेर पहिचान हुन बाँकी छ । बाढीमा अझै दुई प्रहरी, ११ जना नेपाली नागरिक र ६ चिनिया नागरिक बेपत्ता रहेका प्रहरीले जनाएको छ । बेपत्ताहरूको खोजीका लागि रसुवा, नुवाकोट, धादिङ, चितवन र नवलपरासीसम्म प्रहरी परिचालन गरिएको छ  ।

    बाढीमा फसेका ५७ जनाको सकुशल उद्धार भएको प्रहरीले जनाएको छ । बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुलसँगै २४ वटा कन्टेनर, छ वटा ट्रक र ३५ वटा विद्युतीय गाडी बगाएको छ । बाढीका कारण सडक चर्किँदा रसुवाको धुन्चेदेखि टिमुरे जाने सडक अवरुद्ध भएको छ । रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत क्षति भएको छ ।

    नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाई अवरुद्ध रहेको सडक सञ्चालनका लागि सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । बाढीका कारण करिब २३५ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सबैभन्दा ठूलो क्षति रसुवागढी जलविद्युत् आयोजनामा भएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend