मगर संघको भवनमा बुद्धको मूर्ति प्रतिस्थापन

images
  • 265
    SHARES
  • आषाढ २७, २०८२ शुक्रबार
    मगर संघको भवनमा बुद्धको मूर्ति प्रतिस्थापन
    images

    नारायणघाट । नेपाल मगर संघ, जिल्ला समन्वय समिति चितवनको भवनमा बुद्धको मूर्ति प्रतिस्थापन गरिएको छ । नेपाल मगर बौद्ध सेवा समाजले गुरू पूर्णिमाको अवसर पारेर बिहीबार बुद्धको मूर्ति प्रतिस्थापन गरेको हो । २०५८ सालदेखिको योजना बल्ल सफल भएको नेपाल मगर संघ चितवनका अध्यक्ष लालबहादुर मगरले बताए । ‘लामो समयसम्मको निरन्तर प्रयासबाट बल्ल योजना सफल भएको छ,’ उनले भने, ‘ल्याइएको मूर्तिमा आज प्राण प्रतिष्ठा गरी भगवानको रूपमा पुज्न सक्ने भएको छ ।’

    111.jpg

    मूर्ति खरिदमा करिब एक लाख रुपैयाँ खर्च लागेको समाजले जनाएको छ । नेपाल मगर संघको विभिन्न प्रारम्भिक समिति तथा संघको समिति गठित वडाहरुबाट रकम सङ्कलन गरेर मूर्ति खरिद गरिएको हो । तीन फिट चार इन्च अग्लो उक्त मूर्तिलाई बिहीबार धर्मगुरु जगारो भन्तेको विशेष उपस्थितिमा प्राण प्रतिष्ठा गरिएको हो । १५ जना धर्कगुरुहरुले पाठ पढेर मूर्तिमा प्राण भराएका थिए ।

    guru.jpg

    नेपाल मगर बौद्ध सेवा समाजका अध्यक्ष कर्णबहादुर रानामगरका अनुसार सम्बुद्धे गाथा, बुद्धाभिषेक अनेकजा, पटिच्चसमुप्पाद अनुलोम, पटिलोम, उदानपाली पच्चवेक्खण (प्रथम याम), निब्बान पच्चवेक्खण (मध्ययाम), मग्ग पच्चवेक्खण (अन्तिम याम) र पठ्ठान पच्चवुद्देश गरिसकेपछि मूर्तिमा प्राण प्रतिष्ठाको प्रकृया पूरा हुने गर्दछ । सोही अनुसार प्राण प्रतिष्ठा गरिएको उनले बताए ।

    उक्त कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्यद्वय ठाकुरसिंह आलेमगर र काशीमाया रानामगर, नेपाल मगर सांस्कृतिक संघका केन्द्रीय उपाध्यक्ष देवी थापामगर, नेपाल मगर संघ बागमती प्रदेशका सदस्य एवम् चितवन जिल्ला इञ्चार्ज महेन्द्र थापामगर, खेलकुद संघका केन्द्रीय कोषाध्यक्ष मानबहादुर रजालीमगर, भूपू तथा प्रहरी संघका केन्द्रीय सदस्य लालबहादुर थापामगरलगायत उपस्थित थिए ।

    q.jpg

    सहभागीहरुले चितवनका मगरहरु भगवान गौतम बुद्धलाई शीरमा राखेर बस्न पाएकोमा खुसी हुनुपर्ने धारणा राखेका थिए । गौरेश्वर पशुपति मन्दिरसँगै जोडिएको मगर संघको छानोमा बुद्धको मूर्ति राखिँदा यसबाट हरप्रकारका आस्थालाई एकै ठाउँमा जोड्न सफल भएको उनीहरुको भनाइ थियो ।

    पशुपति मन्दिर दर्शन गर्न आउने भक्तजनले भगवान गौतम बुद्धको दर्शनसमेत गर्न पाइने विश्वास लिइएको छ । हाल बुद्धको मूर्ति राखिएको ठाउँमा यसअघि नै नेपालका प्रथम शहीद लखन थापामगरको प्रतिमा पनि स्थापना गरिसकेको छ । दुवै मूर्तिको संरक्षण भने नेपाल मगर संघ चितवन जिल्ला समितिले गर्नेछ ।

    f.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend