ढोरपाटन (बागलुङ), असार ३०
यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ । राता, पहेँला, बैजनी, गुलावी रङ्गमा फुलेका फुलसँगै हरियाली बनेको समथर मैदानले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिचेको छ । एक दशक अगाडिसम्म ढोरपाटन घुम्न पुग्ने पर्यटक निकै कम थिए । जनैपूर्णिमामा ढोरबहार मन्दिरमा पूजा गर्न आउने भक्तजनबाहेक अन्य पर्यटक कमै पुग्थे । दर्शनका लागि पुगेको भक्तजनलाई फाँटैभरी फूलेको वनफूलले छुनै सकेको थिएन ।
पछिल्लो समय ढोरपाटनमा घुम्न आउने पर्यटकको सङ्ख्या अत्यधिक बढेको भन्दै फूलसँग रमाउने बढी भएको उहाँको भनाइ छ । पहिले खान बस्नका लागि सुविधा नहुँदा पर्यटक कम आउने गरेको स्मरण गर्दै अहिले धेरै होटल तथा घरबास ९होम–स्टे० सञ्चालनमा आएपछि ढोरपाटन घुम्नेका लागि पहिलो रोजाइ परेको घर्ती मगर बताउनुहुन्छ । वनफूललाई पर्यटकले अत्यधिक रुचाएपछि त्यसको संरक्षणमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो– “वनफूलको पहिले खास्सै महत्व थिएन, मान्छेहरु मन्दिरमा आएर पूजा गरेर जान्थे तर अहिले पाटननै घुम्ने गरी आउँछन्, त्यसले गर्दा उनीहरुको रोजाई वनफूल परेको छ, वनफूलले पछिल्लो समय हजारौँ पर्यटकलाई आकर्षित गरेको छ, यसको संरक्षण भने हुन सकेको छैन, स्थानीय, सिकार आरक्ष र सरकारले पनि संरक्षणमा ध्यान दिनुपर्छ, नत्र पछि यो फूल मासिन पनि सक्छ ।”
वनफूल पाटनैभरी फूल्छ । फूलमा घोडा, भेडाबाख्रा र गाईभैँसी खुलेमा चर्ने गर्छन् । वस्तुभाउको गोबरले वनफूल राम्रो हुने गर्छ । पछिल्लो समय पाटनमा जथाभावी रुपमा सवारीसाधान चलाउँदा फूल मासिने जोखिम बढेको ढोरपाटन उपत्यका होटल व्यवसायी समितिका अध्यक्ष जीवन पुनले बताउनुभयो । अघिल्लो वर्षको तुलनामा यो वर्ष कम फूल फुलेको उहाँको भनाइ छ ।
पछिल्लो तीन वर्षमा बर्सेनि फूल कम फूलेको पुनले बताउनुभयो । बर्खाको समयमा ढोरपाटन आउने अधिकांश पर्यटक फूलसँग रमाउने गरेको उहाँको भनाइ छ । बुर्तिबाङदेखि ढोरपाटनसम्मको करिब ३२ किलोमिटर सडक अप्ठ्यारो हुँदा पनि वनफूलसँग रम्न पर्यटक आउने अध्यक्ष पुनले सुनाउनुभयो । वनफूल खासगरी असार पहिलो सातादेखि भदौ महिनासम्म पाटनमा रहने उहाँको भनाइ छ । वनफूल ढोरपाटनमा पर्यटक बढाउने माध्यम बनेको पुन बताउनुहुन्छ ।
“वनफूलसँग रमाउन मान्छेको घुइँचोनै लाखेको देख्दा हामीहरु निकै चकित छौँ, किनकी यहाँ त धेरै वर्ष पहिलेदेखि बस्दै आएका छौँ, पहिले कोही पनि मान्छे फाँटमा पुगेर फुल टिप्ने गर्दैनथे, तर अहिले ढोरपाटन आउने हरेक मान्छेले फाँटको बिचमै गएर फूल टिपेर फोटो खिच्छन्” उहाँले भन्नुभयो– “फूलसँग रमाउन आउने पर्यटकका कारण ढोरपाटनको होटल व्यवसाय पनि चलायमान बनेको छ ।”
ढोरपाटन आउने पर्यटकमध्ये दैनिक करिब ५० जना बुकीपाटनसमेत उक्लिने गरेका छन् । ढोरपाटन उपत्यकादेखि बुकीपाटन पुग्नका लागि करिब पाँच घण्टाको पैदलयात्रा गर्नुपर्छ । यति बेला समूहमा वनफूलसँग रमाउने आउने बढी छन् । बुटवलदेखि आउनुभएका आकाश गिरीले वनफूल र ढोरपाटनको सुन्दरताले मन फुरुङ्ग भएको बताउनुभयो ।
बुटवलमा अत्याधिक गर्मी रहेको हुँदा एक साताका लागि ढोरपाटन आएको उहाँको भनाइ छ । सामाजिक सञ्जालमा ढोरपाटन र वनफूलको भिडियो देखिपछि आफूहरु यहाँ आएको गिरीले सुनाउनुभयो ।“आहा ! ढोरपाटन कत्ति सुन्दर रहेछ, पोहोर साल हाम्रो साथीहरु यहाँ आएर फोटो र भिडियो खिचेर लगेका थिए, त्यो देख्दा आउन मन लागेको थियो, यसपाली आउने मौका मिल्यो, यहाँ आएपछि त स्वर्गमै आए जस्तो भयो, बुर्तिबाङबाट आउने सडक अलि खराब रहेछ, फूलसँग रमाउन त निकै मज्जा आउँदो रहेछ, यस्तो राम्रो ठाउँमा विकास भने हुन सकेको रैनछ ।” रासस



