सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

images
  • 165
    SHARES
  • श्रावण १४, २०८२ मंगलबार
    सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला
    images

    काठमाण्डौ –

    सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाको आफ्नै घरबाट सम्पर्कविहीन भनिएका हायू परिवारका सदस्य पोखराको गगनगौंडामा फेला परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरूलाई गगनगौंडाको एउटा घरमा बसिरहेको अवस्थामा हिजो बेलुकी अबेर फेला पारिएको हो ।

    उनीहरु सपरिवार पोखरा गएर शनिवार लेकसाइडको एउटा होटलमा बसेका थिए, हिजो हराएको समाचार सार्वजनिक भएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि सीसीटीभीको आधारमा उनीहरू बसेको ठाउँ पत्ता लागेको प्रहरीले जनाएको छ ।

    उनीहरुले पोखरामा ज्यामी काम गर्नका लागि आएको बताएका छन् । आफूहरु ज्यामी काम गर्ने भएकाले सिन्धुलीमा काम नपाएपछि पोखरा गएको उनीहरुको भनाइ छ ।

    परिवारकै १६ जना बिहीबारदेखि सम्पर्कविहीन भएको खबर हिजो दिनभर नै चर्चामा रहेको थियो । १६ जनामध्ये एक ज्वाइँ र छोरी पोखराकै रहेको तथा अर्को छोरी काठमाण्डौमा बस्ने गरेको प्रहरीले जनाएको छ ।

    गाउँको एकान्तमा रहेको घरमा हिजो प्रहरीसहितको टोली पुग्दासमेत कोही नभेटिएपछि सम्पर्कविहीन भएको भन्दै उनीहरुको खोजी गरिएको थियो ।

    घरका सबै सदस्य  रहस्यमयी तरिकाले सम्पर्कविहीन भएपछि छिमेकीले नै जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए ।

    छोरो विदेशबाट आएको र सामाजिक सुरक्षा भत्ता बुझेको खुशीयालीमा रमाइलो गर्दै कतै घुमघाममा निस्केका वा आफन्तजन भएका ठाउँमा जानसक्ने सम्भावनालाई पनि ख्याल गर्दै प्रहरीले खोजी गरेको थियो ।

    प्रहरीका अनुसार उनीहरु बिहीवार राति गाडी रिजर्भ गरेर सिन्धुली, हेटौँडा, मुग्लिन हुँदै पोखरा पुगेका हुन् ।

    घरबाट बाहिरिँदा हायू परिवारले ६ वटा बाख्रा त्यत्तिकै छोडेर गएका थिए । खोरमा बाख्रा बाँधेर तथा कुकुर छाडेर छरछिमेकी कसैलाई पनि जानकारी नदिई सम्पर्कविहीन भएपछि उनीहरुको बारेमा सोधीखोजी व्यापक भएको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend