काठमाण्डौ –
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन भित्रिएको दुई महिनाको अवस्था सार्वजनिक गर्दै देशभर नै सरदरभन्दा कम पानी परेको जनाएको छ ।
मनसुन असारको दोस्रो हप्ता केही सक्रिय रहे पनि त्यसयता भने देशैभर सरदरभन्दा कम पानी परिरहेको प्राधिकरणका प्रवक्ता शान्ति महतको भनाइ छ । उहाँका अनुसार यस अवधिमा बाढी, पहिरो र चट्याङबाट ४३ जनाको ज्यान गएको छ ।
गएको वर्षको तुलनामा यस वर्ष मनसुनजन्य घटना पनि कम भएका छन भने मानवीय र भौतिक क्षति पनि कम भएको प्राधिकरणले जनाएको छ । यस वर्षको मनसुनमा पानी कम परेका कारण मधेश प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ ।
मधेशमा धान रोपाइँ र बालीनाली लगाउनुपर्ने बेला भएकाले जनजीवन नराम्ररी प्रभावित भइरहेको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।



