सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहलाई विश्वासको मत प्राप्त

images
  • 173
    SHARES
  • श्रावण १७, २०८२ शुक्रबार
    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहलाई विश्वासको मत प्राप्त
    images

    काठमाण्डौ –

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको छ ।

    प्रदेशसभाको हिजोको बैठकले विश्वासको मतका लागि पेश गरिएको प्रस्तावलाई मत विभाजनको प्रक्रियाद्वारा निर्णयार्थ पेश गरिँदा मुख्यमन्त्री शाहको प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको हो ।

    सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले पेश गर्नुभएको प्रस्तावको पक्षमा ३० मत परेको र यो सङ्ख्या बहुमत भएकाले मुख्यमन्त्रीले पेश गर्नुभएको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो ।

    हिजोको बैठकमा प्रदेशसभा सभामुखसमेत ४६ सदस्य सहभागी रहेकामा मुख्यमन्त्रीको प्रस्तावका पक्षमा ३०, विपक्षमा १५ मत परेको थियो । बहुमतका लागि २७ मत आवश्यक हुन्छ ।

    नेपाली कांग्रेसका १८ नेकपा (एमाले)का ११ र नागरिक उन्मुक्ति पार्टीका एक सदस्यले मुख्यमन्त्रीको प्रस्तावका पक्षमा मत दिनुभयो ।

    नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०, नेकपा (एकीकृत समाजवादी) पार्टीका (निलम्बित एक सदस्यबाहेक) तीन, राप्रपाका एक र स्वतन्त्र एक सदस्यले विपक्षमा मत दिनुभयो ।

    नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिएपछि विश्वासको मत लिनुभएका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिकै कैलाश चौधरीले भने विश्वासको मत दिनुभएको छ । त्यस पार्टीका अन्य ६ जना सदस्य भने बैठकमा अनुपस्थित हुनुहुन्थ्यो ।

    यसअघि प्रस्ताव पेश गर्नुहुँदै मुख्यमन्त्रीले प्रदेशमा सुशासन र समृद्धिका लागि सुधारका कार्य गर्नुपर्छ भन्ने महसूस गरेर नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराइएकामा मन्त्रिपरिषद् हेरफेरपछि सिर्जित प्रश्नहरुका कारण विश्वासको मत लिनुपर्ने भएकाले यो प्रस्ताव पेश गरेको बताउनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend