कमाएर गाडी किन्ने भन्दा पनि गाडी किनेर कमाउने सोच राख्नुपर्छ

images
  • 182
    SHARES
  • श्रावण ३२, २०८२ शनिबार
    कमाएर गाडी किन्ने भन्दा पनि गाडी किनेर कमाउने सोच राख्नुपर्छ
    images

    अमेरिका विकसित भएर बाटो बनाएको होइन, बाटो बनाएर विकसित भएको हो । बाटो बनेपछि गाडी चल्छन्, गाउँ–शहर जोडिन्छन्, यात्रा सजिलो हुन्छ, व्यापार बढ्छ । यसरी मानिसको जीवनमा सहजता र खुशी आउँछ । जब मानिस खुशी हुन्छन्, देश पनि अगाडि बढ्छ । त्यसैले विकासको पहिलो र मुख्य आधार राम्रो सडक हो ।

    नेपालका ७७ वटै जिल्लामा सडक सञ्जाल पुगेको छ । यसको उद्देश्य देशलाई गतिशील बनाउनु हो । पहिले बाटो नहुँदा हप्तौँ हिँडेर यात्रा गर्नुपर्थ्यो । सामान बोकाउन भरिया, खच्चड वा घोडामा भर पर्नुपर्थ्यो । अहिले बाटो खुलेर गाडी आएपछि त्यही यात्रा एक दिनमै सकिन्छ ।

    बाटोसँगै विकासको अर्को पाटो हो गाडी । हिजोको दिनमा हलो, कुटो, कोदालो जस्ता औजार खेतीपातीका लागि आवश्यक थिए । आजको दिनमा गाडी त्यस्तै महत्त्वपूर्ण औजार हो । अर्थतन्त्र चलायमान राख्ने, गाउँ शहरलाई जोड्ने लगायतका काम गाडीले गरेको छ ।

    गाडी नभएको भए पहाडका स्याउ, सुन्तला, कन्दमूल, फलफूल र उत्पादन बजारसम्म पुग्ने र बजारका सामान गाउँसम्म पुग्ने नै थिएनन् । यही कारण सडक र गाडी विकासको मुख्य साधन हुन् ।

    धेरैलाई गाडी विलासिताको साधन जस्तो लाग्छ । जीवनमा आफ्नै कमाइले एउटा गाडी किन्ने धेरैको रहर हुन्छ । तर गाडीको आवश्यकता मानिसअनुसार फरक हुन्छ । कसैका लागि गाडी विलासिता हो । तर कसैका लागि गाडी यात्रा गर्ने साधन मात्र होइन, कमाइको स्रोत पनि हो । कसैले पैसा कमाएर गाडी किन्छन्, भने कसैले गाडी किनेरै पैसा कमाउँछन् ।

    गाडी किनेर केवल विलासिताका लागि मात्र प्रयोग गरियो भने त्यसको फाइदा धेरै नहुन सक्छ । तर योजनाबद्ध रूपमा गाडीको सदुपयोग गरेमा यसबाट मनग्य आम्दानी लिन सकिन्छ ।

    निजी गाडी भएमा अरूको गाडीमा चढ्दा लाग्ने खर्च बचत हुन्छ, धुलो–धुँवाबाट जोगिन्छ, रुघा–खोकीजस्ता सामान्य रोगबाट बच्न सकिन्छ । घाम–पानीमा पनि सहज यात्रा गर्न पाइन्छ । गाडीले दिने सुरक्षा पनि ठूलो फाइदा हो । यो अप्रत्यक्ष आम्दानी जस्तै हो ।

    प्रत्यक्ष आम्दानी त झन् धेरै छन् । शहरमा अनलाइन डेलिभरी गर्ने, राइड–सेयरिङ एप चलाउनेदेखि गाडीमा कालो नम्बर प्लेट राखेर भाडामा दिएर पनि नियमित आम्दानी गर्न सकिन्छ । त्यस्तै गाउँमा खेतमा मल लैजाने वा बजारमा ताजा तरकारी पुर्‍याउने, निर्माण सामग्री ओसार्ने, यातायात सेवा दिने काममा पनि सहयोग पुग्छ ।

    कतिले गाडीमै दूध ढुवानी गर्छन्, कतिले गाडीमै तरकारी घर–घरमा पुर्‍याउँछन् । जसको गाडी छ, उसले आफ्नो आवश्यकता अनुसार योजना बनाउन पाएको छ ।

    हिजो गाउँमा खेर जाने तरकारी, आज सडक र गाडीको कारण शहरका भान्सासम्म पुगेका छन् । यसरी गाडीले जीवन सजिलो मात्र होइन, आर्थिक प्रगति पनि ल्याइदिएको छ ।

    त्यसैले पैसा कमाएर मात्र गाडी किन्ने होइन, गाडी किनेर पनि पैसा कमाउन सकिन्छ-यो सोचको कुरा हो । गाडी भएपछि दैनिक काम सजिलो हुन्छ, समय बचत हुन्छ र त्यसैबाट प्रगति र विकास सम्भव हुन्छ । धेरै वैदेशिक रोजगारीबाट फर्किएका युवाले यसैलाई रोजगारीको माध्यम बनाएका छन् ।

    गाउँमा उत्पादन भएका फलफूल र तरकारी शहरमा पुर्‍याउने र शहरका सामान गाउँमा लैजाने प्रणाली बनेमा मनग्य आम्दानी गर्न सकिन्छ ।

    जङ्गलमा कुहिने तितेपाती, बोके टिम्मुरजस्ता वस्तुको शहरमा माग छ, गाडीले ती सामान गाउँबाट शहर ल्याउन सक्छ । यसका लागि उद्योग स्थापना गर्नुपर्छ, र शहरतर्फ जाने गाडी गाउँबाट पनि सामान बोकेर फर्कने वातावरण बनाउनुपर्छ ।

    एक ठाउँबाट अर्को ठाउँ जाँदा त्यहाँको विकास देखिन्छ र नयाँ कुरा सिक्ने अवसर मिल्छ । यसरी आम्दानी पनि बढ्छ । तर गाडीको वास्तविक लाभ लिन, यसको सदुपयोग गर्न चेतना र सीप दुवै विकास गर्न आवश्यक छ ।

    नेपालमा झन्डै १२ लाख मानिसले गाडीबाटै आम्दानी गर्दै आएका छन् । अहिले गाडी किन्नु ठूलो कुरा होइन, त्यसका लागि पुरै पैसा पनि चाहिँदैन । मुख्य कुरा इच्छाशक्ति हो ।

    नेपाल सरकारले ऋण सुविधा दिएको छ । विद्युतीय गाडीमा ६० प्रतिशतसम्म र अन्य गाडीमा ५० प्रतिशतसम्म ऋण पाइन्छ । गाडीलाई किस्ताबन्दीमा लिएर पनि रोजगारी र आम्दानीको साधन बनाउन सकिन्छ । यस्ता हरेक कामका लागि उपयुक्त गाडीहरू सुलभ मूल्यमा पाइन्छन् ।

    अढाइ–तीन लाखदेखि माथिको गाडी पनि धेरैका लागि आम्दानीको स्रोत बन्न सक्छ । तर यसको लागि आफ्नो आवश्यकता अनुसार गाडी छान्नु महत्त्वपूर्ण हुन्छ ।

    हिमाल, पहाड र तराईको भौगोलिक अवस्थाअनुसार गाडीको प्रकार फरक पर्छ । पहाडमा बलियो इञ्जिन र बढी माइलेज दिने गाडी उपयुक्त हुन्छ, शहरमा कम उत्सर्जन गर्ने गाडी राम्रो हुन्छ, र तराईमा ठूलो भारबोझ बोक्न सक्ने गाडी उपयुक्त हुन्छ ।

    यदि ऋणको सुविधा ८० प्रतिशतसम्म हुने हो भने अझ धेरै नागरिकले गाडी किन्न सक्थे र त्यसलाई आम्दानीमा लगाएर लाभ लिन सक्थे । गाडी किन्न धितो पनि चाहिँदैन, किनभने किनिएको गाडी नै धितो हुन्छ ।

    कुन गाडी आफ्नो लागि सही हुन्छ भन्ने कुरा उपभोक्ताले आफैं बुझेर, योजनासहित निर्णय गर्नुपर्छ । यसरी सोचेर र सही तरिकाले प्रयोग गरेमा गाडी केवल यातायातको साधन मात्र होइन, प्रगति र रोजगारीको भरपर्दो स्रोत बन्न सक्छ ।

    गाडी सम्पत्ति हो, तर यसको साँचो फाइदा लिन प्रयोग गर्ने सही तरिका जान्नुपर्छ । यदि राम्रो योजना र राम्रो सडक पूर्वाधार हुन्छ भने गाउँ रित्तिने समस्या कम हुन्छ, जमिन बाँझा रहने समस्या घट्छ । विकासको आधार भनेकै सडक र सडकमा गुड्ने गाडी हो ।

    (नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशाेसिएशन (नाइमा) का कार्यकारी निर्देशक राजकुमार दुलालसँग महेश ज्ञवालीले गरेको कुराकानीमा आधारित । )

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend