समाज परिवर्तनका लागि युवाहरुको हातमा रहेको सम्भावनालाई मूर्त रुप दिँदै, छोटो समयमा नै उल्लेख्य पहिचान बनाउन सफल देवघाटधाम जेसीजले “Best Emerging LOM Award” प्राप्त गरेको छ। भदौ १४ र १५ गते तनहुँको दमौलीमा सम्पन्न नेपाल जेसीज क्षेत्र “ख” सम्मेलनमा प्रस्तुत कार्यक्रम, गतिविधि र सक्रियताका आधारमा देवघाटधाम जेसीजलाई यो राष्ट्रिय स्तरको सम्मान प्रदान गरिएको हो। सम्मेलनमा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष तथा सम्मेलन सभापति एलिना महर्जनले देवघाटधाम जेसीजका अध्यक्ष प्रशन्न ढकाललाई अवार्ड हस्तान्तरण गर्नुभयो। युवाहरुको व्यक्तित्व विकास, नेतृत्व निर्माण, सामाजिक योगदान र सिर्जनात्मक सोचमा आधारित कार्ययोजनाका कारण छोटो अवधिमै राष्ट्रिय स्तरमा चिनिएको देवघाटधाम जेसीजले यो उपलब्धि पाएको हो। अवार्ड प्राप्त पछि अध्यक्षले भने, “यो अवार्ड केवल देवघाटधाम जेसीजको मात्र होइन, सम्पूर्ण पदाधिकारी तथा सदस्य,संस्थापक अध्यक्ष , पूर्वअध्यक्ष, सहयोगी हातहरु र देवघाट समुदायकै गौरव हो। यसले हाम्रो जिम्मेवारी अझ बढाएको छ। हामी आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमसहित अघि बढ्नेछौं।”



