काठमाण्डाै – नेकपा एमालेले पर्सि शुक्रवारदेखि शुरू हुने विधान महाधिवेशनका लागि तयारी पूरा भएको जनाएको छ । आज पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर एमालेले ललितपुरको गोदावरीमा रहेको सनराइज हलमा भदाै २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
विधान महाधिवेशनमा २ हजार २६ प्रतिनिधि र आयोजकका हैसियतमा ३ सय १५ गरी कुल २ हजार ३ सय ४१ जनाको सहभागिता रहने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार विधान महाधिवेशन उद्घाटन एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गर्नु हुने छ । अधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन पेश गर्ने तय भएको छ ।
त्यस्तै विभिन्न आयोगका संयोजकहरूले आफ्नो प्रतिवेदन पेश गर्ने र प्रतिवेदनमाथि समूहगत छलफल गरिने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो । विधान महाधिवेशन सम्पन्न गर्नका लागि आठ वटा उपसमिति गठन भएका छन् ।
पत्रकार सम्मेलनमा एमाले महासचिव शङ्कर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीबारे केन्द्रीय कमिटी बैठकमा आएका फरक मत विधान महाधिवेशनमा छलफल गर्ने कि राष्ट्रिय महाधिवेशनमा गर्ने भन्नेबारे सचिवालय बैठकले टुङ्ग्याउने जानकारी गराउनुभयो । तर विधान महाधिवेशसनमा पार्टीको दस्तावेजमाथि मात्रै छलफल हुने भएकोले पूर्वराष्ट्रपति भण्डारीको सदस्यताबारे फरक मत राख्न नहुने उहाँको तर्क छ ।



