भारतमै निर्मित पहिलो सेमीकन्डक्टर चिप सार्वजनिक

images
  • 277
    SHARES
  • भाद्र १८, २०८२ बुधबार
    भारतमै निर्मित पहिलो सेमीकन्डक्टर चिप सार्वजनिक
    images

    भारतले पूर्णरूपमा स्वदेशमा निर्मित पहिलो सेमीकन्डक्टर चिप सार्वजनिक गरेको छ ।

    हिजो दिल्लीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेशमै निर्मित पहिलो सेमीकन्डक्टर चिप ‘विक्रम ३२०१’ सार्वजनिक गर्नुभएको हो । यो चिप भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र चण्डीगढीमा रहेको सेमीकन्डक्टर ल्याबोरेटरीले बनाएका हुन् ।

    ३२–बिट माइक्रोप्रोसेसर भएको विक्रम ३२०१ अन्तरिक्ष यात्रामा प्रयोग हुने यानलगायतका कठोर परिस्थितिलाई सहन सक्ने गरी निर्माण गरेको इसरोले दाबी गरेको छ । यसले ठूलो मात्रामा मेमोरी व्यवस्थापन गर्न र जटिल कमान्डहरू कार्यान्वयन गर्न सक्नेछ । साधारणतया उन्नत सेमीकन्डक्टरहरू जटिल प्रविधिबाट निर्माण हुने भएकाले हजारौं अमेरिकी डलरसम्म पर्ने गरेका छन् । विक्रम ३२०१ को मूल्य भने खुलाइएको छैन ।

    प्रधानमन्त्री मोदीले चिप सार्वजनिक गर्दै विक्रम ३२०१ ‘आत्मनिर्भर भारत’ भिजनतर्फको महत्त्वपूर्ण उपलब्धि रहेको बताउनुभयो । भारतले सन् २०२५ को अन्त्यसम्म व्यावसायिक सेमीकन्डक्टर चिप उत्पादन शुरू गर्ने घोषणा गर्दै उहाँले भारतलाई चिप नवप्रवर्तनका लागि भविष्यको ‘ग्लोबल हब’ का रूपमा प्रस्तुत गर्ने उल्लेख गर्नुभयाे ।

    भारतले सन् २०२१ यता सेमीकन्डक्टर क्षेत्रसँग सम्बन्धित १० वटा परियोजनामा १८ अर्ब अमेरिकी डलर लगानी गरिसकेको छ । अमेरिकाले शुरू गरेको व्यापार युद्धले सेमीकन्डक्टर बजारमा समस्या आएसँगै चिपको मूल्य बढेको छ ।

    भारतले सन् २०३० सम्म झन्डै ५० अर्ब अमेरिकी डलर बराबरको आफ्नो बजार धानेर पनि विश्व बजारमा महत्त्वपूर्ण हिस्सा लिने लक्ष्य राखेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend