काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनुभएको छ । उहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भदौ १४ गते चीनको तियाञ्जिन प्रस्थान गर्नुभएको थियो ।
चीन भ्रमणका क्रममा उहाँले चीनका राष्ट्रपति सी जिनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी राष्ट्रपति भ्लादिमीर पुटिनलगायत विश्व नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको चीन भ्रमणले अन्तरराष्ट्रिय जगतमा नेपालको प्रतिष्ठालाई थप अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली हिजो बेलुकी स्वदेश फर्किएपछि परराष्ट्र सचिव अमृतबहादुर राईले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ता र भ्रमण उपलब्धिबारे जानकारी दिँदै यस्तो बताउनुभएको हो ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकारलाई जानकारी दिँदै भ्रमण टोलीमा सँगै रहनुभएका सचिव राईले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति एवम् उपराष्ट्रपतिसँग द्विपक्षीय भेटवार्ता तथा अन्य विभिन्न राष्ट्रका राष्ट्र र सरकार प्रमुखसँग भेटवार्ता भएको बताउनुभयो । चीनका राष्ट्रपति सीसँगको भेटमा द्विपक्षीय सम्बन्ध, सहयोग र प्राथमिकताका विषयमा खुला र हार्दिकतापूर्ण छलफल भएको मन्त्रालयले जनाएको छ । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत सहमति भएकालगायत विभिन्न परियोजनाको शीघ्र कार्यान्वयन हुनेमा आशा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले रासायनिक मल, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु परिवर्तनको प्रभावसँग जुध्ने क्षमता अभिवृद्धि तथा जनस्तरको सम्बन्ध सुदृढीकरण जस्ता क्षेत्रमा सहयोगका लागि अनुरोध गर्नुभएको थियो ।
यस्तै प्रधानमन्त्री ओलीले नेपालको भूभाग लिपुलेक नाकामार्फत सीमा व्यापार गर्नेसम्बन्धी भारत र चीनबीच हालै भएको समझदारीप्रति आपत्ति जनाउँदै त्यो समझदारी कार्यान्वयन नगर्न चीनका राष्ट्रपतिलाई अनुरोध गर्नुभएको सचिव राईले वाचन गर्नुभएको पे्रस नोटमा उल्लेख छ । चीनका राष्ट्रपति सीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने कार्यमा चीनको सहयोग रहने अभिव्यक्ति दिनुभएको थियो ।
साथै उहाँले चीनले संयुक्त राष्ट्रसङ्घ र शाङ्घाई सहयोग सङ्गठनलगायत बहुपक्षीय मञ्चहरूमा नेपालसँग सहकार्य गर्ने उल्लेख गर्नुभएको थियो । चीनका राष्ट्रपतिले एक चीन सिद्धान्तप्रति नेपालको दृढ प्रतिबद्धताका लागि धन्यवाद व्यक्त गर्दै दुई देशबीच सहमति भएका उच्च–गुणस्तरीय बीआरआई परियोजनाको कार्यान्वयनमार्फत नेपालको विकासमा चीनको निरन्तर सहयोग रहने कुरा दोहोर्याउनुभएको प्रेस नोटमा उल्लेख छ । प्रधानमन्त्री ओली भदौ १६ गते थियानजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन प्लस शिखर सम्मेलनमा सहभागी हुनुभएको थियो ।



