म्याग्दीमा एक वर्षमा झन्डै एक अर्ब रुपैयाँको आलु र सुन्तला बिक्री

images
  • 144
    SHARES
  • भाद्र २२, २०८२ आइतबार
    म्याग्दीमा एक वर्षमा झन्डै एक अर्ब रुपैयाँको आलु र सुन्तला बिक्री
    images

    म्याग्दी – गएकाे आर्थिक वर्षमा म्याग्दीमा झन्डै एक अर्ब रुपैयाँको आलु र सुन्तला बिक्री भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार आव २०८१/८२ मा ६० करोडको आलु र ३३ करोड ४६ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री भएको हो ।

    केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले गएकाे आवमा एक हजार आठ सय २० हेक्टर क्षेत्रफलमा उत्पादन भएको ३५ हजार चार सय ९० मेट्रिक टन आलु प्रतिकिलो न्यूनतम ३५ रुपैयाँका दरले बिक्री हुँदा ६० करोड रुपैयाँको कारोबार भएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार एक हजार आठ सय २० क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिक टनका दरले आलु उत्पादन भएको छ । चार सय २५ हेक्टर क्षेत्रफलमा उत्पादन भएको चार हजार सात सय ८१ दशमलव तीन मेट्रिक टन सुन्तला प्रतिकिलो ८० रुपैयाँका दरले ३३ करोड ४६ लाख ७० हजार रुपैयाँमा बिक्री भएको केन्द्रका प्रमुख बाँस्तोलाले बताउनुभयो ।

    म्याग्दीको आलु र सुन्तला बेनी, पोखरा, काठमाण्डाै र चितवनका बजारमा बिक्री हुन्छ । क्षेत्रफल विस्तार, अनुकूल मौसम, रोगकीराको समस्या नदेखिएकाले आलु र सुन्तलाको उत्पादन बढेको प्रमुख बाँस्तोलाले बताउनुभयो । आव २०८०/८१ मा ३१ हजार चार सय ५० मेट्रिक टन आलु र तीन हजार ६ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्रका प्राविधिकले ‘क्रपकटिङ’ विधिबाट फलफूल, तरकारी र खाद्यबाली उत्पादनको तथ्याङ्क सङ्कलन गर्दै आएका छन् ।

    अन्नपूर्ण गाउँपालिकाको शिख, खिबाङ, राम्चे, काफलडाँडा नाङ्गी, हिस्तान, पाउद्वार, रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले, दर्मिजा, चिमखोला, ठाडाखानी, बेनी नगरपालिकाको भकिम्लीलगायत ठाउँमा आलु उत्पादन हुन्छ । राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेँडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा धेरै सुन्तला बगैँचा छन् ।

    गाडीको पहुँच पुगेपछि गाउँगाउँमा उत्पादन भएको आलु र सुन्तलाले बजार पाउन थालेको हो । कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले म्याग्दीमा आलु र सुन्तलाखेती विस्तार तथा प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन गरेका छन् ।

    गएकाे आर्थिक वर्षमा केन्द्रको ४७ लाख १४ हजार रुपैयाँ सहयोगमा ४२ वटा फार्म तथा समूहमा आबद्ध एक सय ६४ परिवार किसानले तीन सय ७० रोपनी बगैँचा सुदृढीकरण र ४० रोपनीमा विस्तार गरेका कृषिप्रसार अधिकृत गङ्गा लामिछानेले जानकारी दिनुभयो ।

    खायन आलु कार्यक्रममार्फत तीन वटा सहकारी र २७ समूहलाई बीउ, यान्त्रिकीकरण, सिँचाइ पूर्वाधार, ‘प्याकेजिङ’ र ढुवानीका लागि ८७ लाख ६४ हजार रुपैयाँ अनुदान उपलब्ध गराइएको केन्द्रले जनाएको छ । यस वर्ष सुन्तलाजात फलफूल बगैँचा स्थापना तथा विस्तारका लागि ६ लाख र सुदृढीकरणका लागि १९ लाख ८० हजार रुपैयाँ बजेट प्राप्त भएको छ ।

    म्यााग्दीमा आलु जोन कार्यक्रमले अन्नपूर्ण र रघुगङ्गा गाउँपालिका तथा बेनी नगरपालिका–९ र १० मा आलुखेती विस्तारमा सहयोग गर्दै आएको छ । यस वर्ष पर्वत, बागलुङ र म्याग्दीमा सञ्चालन भइरहेको सुन्तला जोनमा ५३ लाख ८५ हजार, रघुगङ्गा, बेनी र अन्नपूर्ण गाउँपालिका कार्यक्षेत्र भएको आलु जोनका लागि १६ लाख ६८ हजार रुपैयाँ बजेट प्राप्त भएको परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले जानकारी दिनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend