नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलिदान गरेर आएका राजनीतिक दलहरुलाई निषेध गर्नेकुरा स्वीकार्य हुन नसक्ने बताएका छन् ।
संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बिहान आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरुलाई कमजोर बनाएर वा निषेध गरेर लोकतन्त्र अघि बढ्न नसक्ने बताए ।कुनै राजनीतिक दलका नीतिहरु मन परेनन् भने नयाँ राजनीतिक दल खोल्न मिल्ने भन्दै उनले नीतिमा प्रतिष्पर्धा लोकतन्त्रको विशेषता भएको जिकिर गरे ।
महासचिव पोखरेलले भने, ‘लोकतन्त्रमा राजनीतिक दलहरुलाई कमजोर बनाएर, निषेध गरेर लोकतन्त्र अघि बढ्न सक्दैन । कुनै राजनीतिक दलका नीतिहरु मन परेनन् भने नयाँ राजनीतिक दलहरु खोल्न मिल्दछ । जुन राजनीतिक दलहरु नेतृत्वमा छन्, उनीहरुले नै एकाधिकार प्राप्त गर्दछन् भन्नेकुरा संविधानको मान्यता पनि होइन, हाम्रो कसैको आग्रह पनि होइन । नीतिमा प्रतिष्पर्धा लोकतन्त्रको विशेषता हो ।’उनले थपे, ‘नेकपा एमालेले अघि सारेको भन्दा राम्रो नीति कसैले ल्याउन सक्छ भने ल्याउनका लागि संविधानले बाटो छेकेको छैन । नेपाली कांग्रेसले अघि सारेको नीति भन्दा राम्रो नीति ल्याउने सामर्थ्य कसैको छ भने संविधानले त्यो अधिकार कसैलाई रोकेको छैन । तर जनताका लागि आफ्ना नीति र योजना, कार्यक्रम अघि बढाइरहेका र बलिदानीपूर्ण गरेका राजनीतिक दलहरुलाई निषेध गर्नेकुरा स्वीकार्य हुन सक्दैन ।’
महासचिव पोखरेलले नव युवाहरुको आन्दोलनका नाममा मिसाउन खोजिएको षड्यन्त्रले लोकतन्त्रलाई कमजोर पार्ने काम भएको बताए ।



