पहिरोले चीनसँगको प्रमुख व्यापारीक तातोपानी नाका फेरि अवरुद्ध भएको छ । सिन्धुपाञ्चोकको भोटेकोशी गाउँपालिका -२ मा पर्ने इकुमा गएराति पहिरो खसेपछि चीनबाट सामान बोकेर भित्रिएका गाडी बाटोमै रोकिएका छन् ।
अहिले अवरुद्ध सडक खुलाउने काम भैरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाञ्चोकले जनाएको छ । साना गाडीहरु दिउँसोसम्म र ठूला गाडी बेलुकीसम्म सञ्चालनमा ल्याउने गरी काम भैरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाञ्चोकका डीएसपी माधवराज खरेलले उज्यालोलाई जानकारी दिनुभयो । तातोपानी नाका खुल्ने र बन्द हुने भैरहँदा समस्या भएको उहाँले बताउनुभयो ।
चीनसँगका प्रमुख दुई व्यापारिक नाका तातोपानी र केरुङ बन्द हुँदा दशैँको सामान बेच्न समस्या भइरहेको व्यवसायीले गुनासो गरेका छन् । दशैँका लागि ल्याइएका हजारौँ कन्टेनरका सामान नाकामा रोकिँदा समस्या भइरहेको व्यवसायीको भनाई छ ।
गएको असार २४ गते नेपाल–चीन सिमानामा पर्ने रसुवाको ल्हेन्दे खोलामा आएको बाढीले मितेरी खोलाको पुल बगाएपछि केरुङ नाका पनि बन्द छ । तातोपानी नाकामा तीन हजारभन्दा बढी र केरुङ नाकामा एक हजार पाँच सय भन्दा बढी कन्टेनर सामानसहित रोकिएका छन् ।



