आन्दोलनले उठाएका आवाजलाई सम्बोधन गर्न सबैले हातेमालो गर्नुपर्छ : प्रधानमन्त्री कार्की (सम्बोधनको पूर्ण विवरणसहित)

images
  • 167
    SHARES
  • आश्विन १०, २०८२ शुक्रबार
    आन्दोलनले उठाएका आवाजलाई सम्बोधन गर्न सबैले हातेमालो गर्नुपर्छ : प्रधानमन्त्री कार्की (सम्बोधनको पूर्ण विवरणसहित)
    images

    प्रधानमन्त्री सुशीला कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका त्याग, बलिदान एवम् सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै ‘जेनजी’ आन्दोलनले उठाएका आवाजलाई सम्बोधन गर्न सबैले हातेमालो गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।

    हिजो देशका नाममा पहिलो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘प्रदर्शनका क्रममा जीवन गुमाउने योद्धालाई सहिद घोषणा गरी निजका शोकसन्तप्त परिवारलाई आर्थिक राहतको व्यवस्था गरिएको छ । घाइतेको निःशुल्क औषधि उपचार तथा क्षतिपूर्तिको प्रबन्ध गरिएको छ । यसका अतिरिक्त आन्दोलनका क्रममा जेनजी विद्यार्थी तथा युवायुवतीले अनाहकमा ज्यान गुमाउनुपरेकामा दुःख व्यक्त गर्दै सम्बद्ध दोषीमाथि सख्त कानुनी कारबाही गर्ने वर्तमान सरकार प्रतिबद्ध छ ।’

    आउँदो ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने अठोटसहित निर्वाचन प्रक्रियामा होमिएको वर्तमान सरकारलाई सहयोग गर्न सबैसँग अनुरोध गर्नुभयो ।  

    सम्बोधनको पूर्ण विवरण यसप्रकार छ :

    आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
    १. २०८२ साल भदौ २३ र २४ गते जेनजी युवाको अगुवाइमा भएको आन्दोलन र सोपश्चात् माग भएअनुसार मेरो नेतृत्वमा मन्त्रिमण्डल गठन गर्ने आह्वान गरिएअनुसार यही भदौ २७ गते गठन भएको अन्तरिम सरकारको प्रधानमन्त्रीको हैसियतले मेरा आफ्ना अभिमतहरू संविधान दिवसका अवसरमा यहाँहरूसमक्ष सार्वजनिक गरिसकेको छु । हाल समाजका लब्धप्रतिष्ठित व्यक्तिहरू समावेश भएको मन्त्रिमण्डलको गठन भइसकेकाले नेपाली जनताले शासकीय प्रणालीमा परिवर्तन, भ्रष्टाचारको अन्त र सुशासन, चुस्त र प्रविधिमैत्री सार्वजनिक सेवाप्रवाह,  विकास र समृद्धिको आकाङ्क्षा राखी गरेको अभूतपूर्व प्रदर्शन र आन्दोलनपश्चात्को जटिल परिस्थितिमा ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारीसहित म प्रधानमन्त्री भएको छु ।

    २. युवापुस्ताले गरेको प्रदर्शन र आन्दोलनका क्रममा मृत्युवरण गर्न पुगेका सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । साथै, सार्वजनिक संरचनाहरू, व्यावसायिक प्रतिष्ठान र निजी घर सम्पत्तिमा भएको अकल्पनीय र अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछ ।

    ३. प्रदर्शनका क्रममा जीवन गुमाउने व्यक्तिहरूलाई सहिद घोषणा गरी निजका शोकसन्तप्त परिवारलाई आर्थिक राहतको व्यवस्था गरिएको छ । साथै, सरकारले घाइतेहरूको निःशुल्क औषधि उपचार तथा क्षतिपूर्तिको प्रबन्ध गरेको छ । यसको अतिरिक्त आन्दोलनका क्रममा जेनजी विद्यार्थी तथा युवायुवतीले अनाहकमा ज्यान गुमाउनु परेकामा यो सरकार सम्बद्ध दोषीउपर सख्त कानुनी कारबाही गर्ने प्रतिबद्धता जाहेर गर्दछ ।

    ४. यस जटिल परिस्थितिमा देशलाई निकास दिन आउँदो फागुन २१ गतेभित्रै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले आवश्यक पर्ने जनशक्ति, बजेट, निर्वाचन सामग्री, सुरक्षा र कानुनी व्यवस्थालगायतका विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरी आमनिर्वाचनको प्रारम्भिक कार्य शुरू गरिसकेको छ । १८ वर्ष पुगेका जेनजी युवापुस्तालाई मताधिकार प्रदान गर्ने र मतदाता नामावली अद्यावधिक गर्ने गरी विद्यमान निर्वाचन कानुनलाई अध्यादेशका माध्यमबाट संशोधन गरिसकिएको छ ।

    ५. रोजगारीको सिलसिलामा देश बाहिर रहनुभएका नेपाली नागरिकलाई विदेशबाटसमेत आउँदो निर्वाचनमा मतदान गर्नसक्ने सम्भावनाका बारेमा नेपाल सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको मर्यादित रोजगारी तथा तिनका हकहितको संरक्षण एवम् गैरनेपाली नागरिकहरूले उठाएका संविधानसम्मत मागहरूप्रति वर्तमान सरकार सकारात्मक रहेको छ ।

    ६. प्रतिनिधिसभाको आउँदो निर्वाचनमा उत्साहका साथ भाग लिन र युवापुस्ताको परिवर्तनको आकाङ्क्षाको प्रतिनिधित्व गर्न सक्ने योग्य जनप्रतिनिधिको चयनका लागि आउँदो निर्वाचनमा सहभागी हुन म सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई आह्वान गर्न चाहान्छु । स्वतन्त्र, भयरहित तथा निष्पक्ष निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारजगत तथा सम्बद्ध सबै सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि समेत आह्वान गर्दछु । निर्वाचन सम्पन्न हुनका निम्ति शान्तिपूर्ण वातावरण कायम हुनु जरूरी छ । तसर्थ, मुलुकका सबै भौगोलिक क्षेत्रमा बसोबास गर्नुहुने दिदीबहिनी तथा दाजुभाईलाई धैर्यताका साथ शान्तिपूर्ण वातावरण कायम राख्न अनुरोध गर्दछु ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend