दसैंको चहलपहलसँगै सर्वसाधारणमा चोरी र लुटपाटको त्रास

images
  • 251
    SHARES
  • आश्विन १०, २०८२ शुक्रबार
    दसैंको चहलपहलसँगै सर्वसाधारणमा चोरी र लुटपाटको त्रास
    images

    हिन्दूहरूको महान पर्व बडादसैंको चहपहलसँगै नवलपरासीका ग्रामीण क्षेत्रका सर्वसाधारणमा चोरी र लुटपाटको त्रास बढेको छ । दसैंमा मान्यजनहरुको हातबाट टीका लगाउनका लागि देश विदेशमा रहेका नेपालीहरू आ–आफ्नो घर फर्किन सुरु गरेका छन् । घर फर्कने क्रम बढेपछि सडकमा सवारीसाधनहरूको चाप पनि उत्तिकै बढ्दै गएको छ । दसैंको चहलपहल बढी रहेका बेला अहिले चोरी र लुटपाटका घटना हुन सक्ने भन्दै सर्वसाधारणहरुमा उत्तिकै त्रास पनि बढेको छ । गाउँ घरमा लुटपाट बढ्न सक्ने भन्दै जिल्लाका केही ग्रामीण क्षेत्रमा स्थानीयले गस्तीसमेत सुरु गरेका छन् । जेनजी प्रदर्शनका क्रममा कारागारबाट कैदीबन्दीहरु भागेका छन् । केही सम्पर्कमा पुगेको र केहीलाई प्रहरीले पक्राउ गरेपनि अधिकांश भने अझै बाहिरै छन् ।

    नवलपरासी कारागारबाट पनि कैदीबन्दीहरु निस्किएका छन् । निस्केकामध्ये २२७ जना सम्पर्कमा आएको कारागार प्रमुख विकल श्रेष्ठले जानकारी दिए । अझै ३०३ जना बाहिरै छन् । बाहिर गएका कैदीबन्दीहरुले फेरि समाजमा गलत क्रियाकलाप गर्ने र लुटपाट तथा चोरी गर्न सक्ने भन्दै सर्वसाधारणमा त्रास देखिएको हो ।

    भागेका कैदबन्दीका कारण सर्वसाधारणमा मानसिक त्रास देखिएपनि जिल्लामा चोरीको बगिबिगी नरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी विरदत्त पन्तले जानकारी दिए । चोरी र लुटपाटका आपराधिक क्रियाकलाप हुन नदिन पैदल र सवारीसाधनमार्फतको गस्तीलाई बढाएको उनले जानकारी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend