महामन्त्री शर्माले वर्तमान सरकारमा योग्य व्यक्तिहरूलाई मन्त्री बनाइए पनि जेनजी युवा पुस्ताको सहभागिता नभएकाप्रति असन्तुष्टि जनाउँदै मन्त्रिपरिषद्मा जेनजी युवा पुस्तालाई पनि समेट्नुपर्ने सुझाव दिए ।
जेनजी आन्दोलनका क्रममा सरकारी संरचना र व्यावसायिक प्रतिष्ठानमा भएको आगजनी तथा तोडफोड जेनजी युवाहरूको भावनाअनुसार नभएको जिकिर गर्दै दुवै दिन भएका घटनामा संलग्न दोषीलाई कारबाही हुनुपर्नेमा जोड दिए ।
महामन्त्री शर्माले पछिल्लो घटनाले राजनीतिक दललाई परिवर्तन हुन सन्देश दिएको उल्लेख गर्दै फरक–फरक विचारलाई सम्बोधन गर्दै साझा धारणा बनाउने तयारीमा पार्टी केन्दीय समितिको बैठक बस्ने तयारी भइरहेको बताए ।
‘हामीले युवाहरूको भावनाको सम्मान गर्नैपर्छ । त्यसका लागि कांग्रेसले केन्द्रीय समितिमार्फत योजना अगाडि सार्छ । विधान संशोधनमार्फत जेनजी पुस्तालाई प्रतिनिधित्व गराउने गरी तयारी भइरहेको छ’, उनले भने, ‘पार्टी सभापति शेरबहादुर देउवाको घरमा पैसा भेटिएको भनी सामाजिक सञ्जालमा भाइरल भएका भिडियोका सन्दर्भमा पनि भिडियोकै आधारमा आम धारणा बनाउन हुँदैन । यस विषयमा निष्पक्ष अनुसन्धानमार्फत सत्यतथ्य बाहिर ल्याउनुपर्छ ।’
उनले विशेष अधिवेशन बोलाउनका लागि भएको हस्ताक्षर अभियानलाई नकारात्मक रुपमा लिन नहुने बताए ।
‘विशेष अधिवेशन बोलाउन साथीहरूले हस्ताक्षर गर्दै गरेको विषयलाई कसैले पनि नकारात्मक रुपमा लिनहुन्न । पार्टी विधान बमोजिम केन्द्रीय समितिले विशेष अधिवेशन बोलाउन सक्छ,’ उनले भने ।



