पार्टी एकता लागि कार्यदल बनाएपछि एकीकृत समाजवादीभित्र मतभेद, तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग

images
  • 144
    SHARES
  • आश्विन १२, २०८२ आइतबार
    पार्टी एकता लागि कार्यदल बनाएपछि एकीकृत समाजवादीभित्र मतभेद, तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग
    images

    वाम एकताका लागि भन्दै एकीकृत समाजवादी पार्टीले कार्यदल बनाएपछि नेकपा एकीकृत समाजवादी भित्र मतभेद बढेको छ। वरिष्ठ नेता बेदुराम भुसालको संयोजकत्वमा गठित कार्यदललाई माओवादी केन्द्रसहित कम्युनिस्ट पार्टीहरूसँग एकताका लागि वार्ता गर्ने कार्यादेश दिएपछि पार्टीभित्र छलफल नगरी अपानि जारी भएको भन्दै नेताहरुले आपत्ति जनाएको हुन्।

    कार्यदलमा अर्का वरिष्ठ नेता प्रमेश हमाल र उपाध्यक्ष प्रकाश ज्वाला सदस्य छन्। एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवम् प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अपानिमाथि फरक मत राख्दै तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन्। पार्टी एकताको आधार निर्माण गर्ने जस्तो महत्वपूर्ण विषय केन्द्रीय कमिटीले पास नगरी एकताको विषय नउठाउन उनको माग छ। अर्यालले एकताका आधारहरु पार्टी सचिवालयले नभई पार्टी केन्द्रीय कमिटीले निर्माण गर्नुपर्ने तर्क दिएका छन्।  नीति र विचारकै तहमा सार्वजनिक बहस नगरीकन वडा अध्यक्षदेखि प्रधानमन्त्रीसम्म हुने चाहना राखेर गरिने कुनै पनि प्रकारको एकता असफल हुने उनको भनाई छ।

    एकीकृत समाजवादीले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग पनि संवाद अघि बढाएको छ। यता माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले पनि 'विचार मिल्ने माओवादी धारा एवं वामपन्थी पार्टीहरूबीच एकता गर्ने। एकताको प्रक्रिया तत्काल अगाडि बढाई विशेष महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा सम्पन्न गर्न जोड गर्ने। तर, निर्धारित मितिभित्रै विशेष महाधिवेशन गर्ने' निर्णय गरेको छ।

    अपानिमा पोलिटब्युरो सदस्य अर्यालले राखेका यी हुन् चार फरक मत :

    १.सबभन्दा पहिला त एकताका आधारहरु पार्टी सचिवालयले होइन, पार्टी केन्द्रीय कमिटीले निर्माण गर्नुपर्छ। हाम्रो विधान अनुसार महाधिवेशन पछिको पार्टीको सर्वोच्च निकाय केन्द्रीय कमिटी हो। एकताको आधार निर्माण गर्ने जस्तो महत्वपूर्ण विषय केन्द्रीय कमिटीले पास नगरिकन सार्वजनिक गरिनु र कार्यान्वयन गर्न खोज्नु विधिसम्मत होइन भन्ने मेरो मत हो।

    २. त्यसकारण अविलम्ब पार्टी केन्द्रिय कमिटीको बैठक डाकियाेस भन्ने माग गर्दछु। केन्द्रिय कमिटीको बैठक नबसिकन सचिवालयले निर्माण गरेको ११ बुँदाका आधारमा कुनै पनि पार्टीसँग वार्ता नगरियोस भन्ने मेरो दोस्रो माग छ।

    ३. ११ बुँदे आधारमा वामपन्थीहरुको वामपन्थीकरण, बर्ग संघर्ष, निति र नेतृत्वको पुनर्गठन, प्रतिष्पर्धाबाट श्रेष्ठता, प्रगतिशील संस्कृति , इतिहासलाई हेर्ने दृष्टिकोण र सम्मानजनक अवकाश जस्ता महत्वपूर्ण विषयहरु छुटेका छन्। जुन कुरा केन्द्रीय कमिटी बैठकमै उठाएर समृद्ध बनाउन जरुरी छ।

    ४. त्यसबाहेक हाम्रा पार्टीहरुको गठन,पुनर्गठन वा एकतालाई हालै सप्पन्न भएको जेनजी आन्दोलनको इमानदार र सकारात्मक पक्षसंग जोडेर लैजान जरुरी छ। त्यसका लागि पनि विभिन्न बाम पार्टीहरुका बिचमा ठूलो व‌ैचारिक बहस हुनुपर्छ। निति र बिचारकै तहमा सार्वजनिक बहस नगरीकन वडा अध्यक्ष देखि प्रधानमन्त्रीसम्म हुने चाहना राखेर गरिने कुनै पनि प्रकारको एकता असफल हुने तथ्य बिनम्रतापुर्वक अनुरोध गर्न चाहान्छु।

     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend