काभ्रे बाढीपहिरोको एक वर्ष : आवास निर्माण सुरु भएन, पीडितहरू समस्यामै

images
  • 201
    SHARES
  • आश्विन १२, २०८२ आइतबार
    काभ्रे बाढीपहिरोको एक वर्ष : आवास निर्माण सुरु भएन, पीडितहरू समस्यामै
    images

    अस्थायी आवासको लागि १३ वटा पालिकाका ३१२८ जनाले पहिलो किस्ता बापत ७ करोड ७९ लाख २५ हजार रुपैयाँ तथा बेथानचोक गाउँपालिकाका १९६ र रोशी गाउँपालिकाका ४६१ घर परिवारले दोस्रो किस्ता बापत एक करोड ६४ लाख २५ हजार प्राप्त गरिसकेका छन् । बाढीपहिरो गएको एक वर्ष बितिसक्दा पनि स्थायी आवास बनाउने कार्य भने सुरु भएको छैन ।

    प्राकृतिक विपत्ति कहाँ, कतिबेला, कसरी आउँछ कसैलाई थाहा हुँदैन । गत वर्ष असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण काभ्रेपलाञ्चोकमा अकल्पनीय जनधनको क्षति भयो ।

    बाढीपहिरोले त्यसबेला काभ्रेमा ७९ जनाको मृत्यु भएको थियो भने पाँच जना अझै बेपत्ताको सूचीमै छन् । बाढीपहिरोमा परेर ७५ जना घाइते भए । तर, बाढीपहिरो गएको एक वर्ष पुग्दा पनि पीडितहरु समस्यामा गुज्रिरहेका छन् ।

    सबैभन्दा बढी प्रभावित जिल्लाका बेथानचोक, पनौती, रोशी, तेमाल, नमोबुद्धलगायतका पालिकाहरुका धेरै बस्तीहरु पुननिर्माण तथा स्थानान्तरण गर्नुपर्ने आवश्यकता देखिएको भएपनि उनीहरुलाई न स्थायी आवासको काम सुरु भएको छ न स्थानान्तरणकै प्रयास ।

    एक वर्ष पूरा हुँदा पनि अधिकांश पालिकामा पुनर्निर्माणको काम सुरु हुन सकेको छैन । सबै पालिकामा आवास निर्माणको लागि किस्ता लिएको भएपनि दुई पालिका रोशी र बेथानचोकले मात्र दोस्रो किस्ता बापतको रकम लगेका छन् । अझै कुनै पनि स्थानीय तहमा स्थायी आवास निर्माणको काम सुरु भइसकेको छैन ।

    काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार अस्थायी आवास निर्माणका लागि १३ वटा पालिकाका ३१२८ जनाले पहिलो किस्तावापत ७ करोड ७९ लाख २५ हजार रुपैयाँ प्राप्त गरेका छन् भने बेथाञ्चोक गाउँपालिकाका १९६ र रोशी गाउँपालिकाका ४६१ घर परिवारले दोस्रो किस्तावापत एक करोड ६४ लाख २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । त, अन्य पालिकाकाले भने दोस्रो किस्तावापतको रकम लगेका छैनन् ।

    ‘दोस्रो किस्ताका लागि जिल्ला प्रशासन कार्यालयको खातामा चार करोडभन्दा धेरै रकम छ । तर, स्थानीय तहले दोस्रो किस्ता रकम माग नगरेकोले खातामानै बसेको छ’, सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने, ‘अस्थायी आवासको लागि लाभग्राही प्रतिपरिवार पहिलो किस्तामा २५ र दोस्रो किस्तामा २५ गरी ५० हजार रुपैयाँ उपलब्ध गराउने कार्यविधि अनुसार दिने गरिएको छ ।’

    विपद्का कारण निजी आवास पूर्णरुपले क्षति भएका तथा आंशिक क्षति भए तापनि बसबोस गर्न योग्य नरहेका घरपरिवारलाई तत्काल अस्थायी आवास निर्माण गर्न उपलब्ध गराउने गरी अनुदान सम्बन्धी व्यवस्था गरिएपछि सरकारले विपद्बाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान मापदण्ड २०८१, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३९ बमोजिम अस्थायी आवास निर्माणका लागि रकम उपलब्ध गराएको थियो ।

    विपद्‍का कारण निजी आवास पूर्ण रुपले क्षति भएका तथा आंशिक क्षति भए तापनि बसबोस गर्न योग्य नरहेका घरपरिवारलाई तत्काल अस्थायी आवास निर्माण गर्न उपलब्ध गराउने गरी अनुदान सम्बन्धी व्यवस्था अनुसार रकम दिएपनि धेरै लाभग्राहीले अस्थायी आवास निर्माण गरेका छैनन् ।

    तर, काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जिल्लाका १३ वटै पालिकाका लाभग्राहीहरू पहिचान गरी प्रविष्ट गरिएको आधारमा भुक्तानी गरिएको जानकारी दिए । ‘अस्थायी आवास निर्माणका लागि पहिलो किस्तोवापत २५ हजार रुपैयाँ उपलब्ध भएर निर्माण सुरु गरेर दोस्रो किस्ता २५ हजारका लागि स्थानीय तहले बाँकी रकम दिन उपयुक्त छ भनी सिफारिस गरेका अस्थायी आवासका लाभग्राहीहरुलाई अन्तिम किस्तावापतको २५ हजार रकम उपलब्ध गराइनेछ’, सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend