२१ कात्तिक, काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयारी तीव्र पारेको छ ।
निर्वाचनको मिति घोषणा भएपछि कार्यदल नै गठन गरेर काम सुरु गरिएको छ । नेपाली सेनाको कमान्डमा तीनवटै सुरक्षा निकायका प्रतिनिधिलाई राखेर एकीकृत सुरक्षा योजना बनाउने काम सुरु भएको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचन सुरक्षा कार्यविधि २०७८ अनुसार समिति गठन गरेर काम सुरु गरिएको छ ।
‘निर्वाचन घोषणा भइसकेको अवस्थामा सबै सुरक्षा निकायसँग समन्वय गरेर काम गर्नुपर्ने भएकाले एकीकृत सुरक्षा योजना बनाउन समिति गठन भएको हो,’ सहायक रथी बस्नेतले अनलाइनखबरसँग भने । उनका अनुसार नेपाली सेनाका सहायक रथीको कमान्डमा कार्यदल बनेको छ । यो कार्यदलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रतिनिधि पनि सहभागी छन् । सुरक्षा व्यवस्था अध्ययन गरेर समितिले सुरक्षाकर्मी परिचालनका खाका तयार पार्ने बताइएको छ । अहिले अध्ययनको क्रममा रहेको सहायक रथी बस्नेत बताउँछन् ।



