काठमाडौँ, मंसिर २३ –
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशकमा आचार्य लक्ष्मण पन्थी नियुक्त हुनुभएको छ ।
नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारीधि अनुसन्धानरत पन्थी विभिन्न धार्मिक तथा ज्योतिषीय सङ्घसंस्थामा क्रियाशील हुनुहुन्छ । उहाँले नेपाल ज्योतिष परिषद्, दक्षिण एसियाली ज्योतिष महासङ्घ, विश्व ज्योतिष महासङ्घ, आध्यात्मिक पत्रकार समाज, विश्व हिन्दू महासङ्घलगायतका विभिन्न संस्थाको नेतृत्व तहमा रहेर काम गरिसक्नुभएको छ ।पन्थीले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्यसमेत भएर काम गरिसक्नुभएको छ । उहाँ अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्यसचिवसमेत हुनुुहुन्छ ।नवनियुक्त कार्यकारी निर्देशक पन्थीले सञ्चारकर्मीसँग कुरा गर्दै सम्पूर्ण संस्कृति, परम्परा, रीतिरिवाजको अपनत्व हुनेगरी आफूले कार्यसम्पादन गर्ने बताउनुभयो । यसअघि पञ्चाङ्ग निर्णायक समितिको अध्यक्षमा प्रा शम्भुप्रसाद ढकाल र सदस्यमा प्राडा देवमणि भट्टराई, प्राडा नारायणप्रसाद निरौला, रतिदेवी जोशी श्रेष्ठ र चेतराज उपाध्याय नियुक्ति भइसक्नुभएको छ । रासस



