नेता कार्यकर्तालाई ओलीको निर्देशन– ‘आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू’

images
  • 74
    SHARES
  • पौष ४, २०८२ शुक्रबार
    नेता कार्यकर्तालाई ओलीको निर्देशन– ‘आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू’
    images

    काठमाण्डाै – नवनिर्वाचित नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    नवनिर्वाचित पार्टी केन्द्रीय कमिटीको पहिलो बैठकलाई आज सम्बाेधन गर्दै अध्यक्ष ओलीले पार्टीमा केही समस्या देखिएको उल्लेख गर्दै आउँदा दिनमा त्यस्ता खालको कुनै पनि कमजोरी हुन नदिने दाबीसमेत गर्नुभयो ।

    उहाँले नवनिर्वाचित केन्द्रीय कमिटीमा नेताहरूलाई एकस्वर भएर पार्टीको विधान महाधिवेशनले तय गरेका वैचारिक, सङ्गठनात्मक र कार्यक्रमिक नीति अनुसार अघि बढ्न पनि सचेत गराउनुभयो ।

    आर्मीले मार्च गरेजस्तो पार्टीका हरेक सदस्यहरूले एकस्वर, एकतालका साथ अघि बढनुपर्ने अध्यक्ष ओलीको भनाइ थियो । उहाँले भन्नुभयो, ‘हामी एकताको भावनाका साथ नयाँ उचाइका साथ अगाडि बढ्नेछौँ । हाम्रो एक आवाज हुनुपर्दछ । परेडमा आर्मीले मार्च गरेजस्तो हाम्रा हातहरू पनि बराबर हल्लिने, खुट्टाहरू पनि बराबर चल्ने गरी ताल मिलाएर हामी अघि बढ्नेछौँ ।’

    अध्यक्ष ओलीले टोलटोलमा सुरक्षा समिति बनाएर आमनागरिकको सुरक्षाको काम गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

    काठमाण्डौमा सम्पन्न पार्टीको ११औं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको पहिलो बैठक आज बसेको हो । ३०१ सदस्यीय केन्द्रीय कमिटीमा अध्यक्ष केपी शर्मा ओली समूहको पकड छ । एमालेको नयाँ नेतृत्वका लागि ओली र ईश्वर पोखरेलले प्यानलसहित प्रतिस्पर्धा गर्नुभएको थियो ।

    यसैबीच एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक आउँदो पुस २६ देखि २८ गतेसम्म बस्ने भएको छ । नवनिर्वाचित केन्द्रीय कमिटीको आजको पहिलो बैठकमा महासचिव शङ्कर पोखरेलले दोस्रो बैठकबारे प्रस्ताव पेश गर्नुभएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend