काठमाण्डाै – तराई क्षेत्रमा लागेको बाक्लो हुस्सु र कुहिरोका कारण आज केही विमानस्थलमा उडान/अवतरण प्रभावित भएको छ ।
आज बिहानैदेखि न्यून भिजिबिलिटीका कारण जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलबाट हुने उडान तथा अवतरण प्रभावित भएका हुन् । हवाई यातायात अवरुद्ध हुँदा यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन् ।
जल तथा मौसम विज्ञान विभागले आज बिहानको विशेष बुलेटिनमा तराईका धेरैजसो भागमा हुस्सु/कुहिरो लाग्ने जनाएको थियो । साथै यी भागमा अझै केही दिन बिहान र दिउँसोको समयमा कुहिरो लाग्न सक्ने अनुमान छ ।
यसैबीच दिउँसाे बाक्लाे हुस्सुका कारण माैसम नखुलेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने जिल्ला अदालत रुपन्देही पुग्न ढिलाइ भएकाे छ । बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उहाँ दिउँसो १ बजेसम्म रोकिनुपर्याे । त्यसपछि लामिछाने चितवनको भरतपुर विमानस्थल ओर्लिएर त्यहाँबाट गाडीमा रुपन्देहीतर्फ लाग्नुभएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति लामिछाने पार्टीको जिम्मेवारीमा फर्किने जानकारी पनि गराएको छ । उपसभापति डोलप्रसाद अर्यालले आज विज्ञप्ति निकालेर लामिछाने पार्टीको मूल जिम्मेवारीमा फर्किने जानकारी गराउनुभएको हो ।



