देवघाट तनहुँ : असार १३
तनहुँको देवघाट गाउँपालिका ५ वडा स्थित देवघाट क्षेत्र बिकास समितिको सभा हलमा आज नेपाल सरकार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय युनेस्केका निमित्त नेपाल राष्ट्रिय आयोग सिंहदरबार,काठमाण्डौको आयोगको आयोजनामा परम्परागत खेलकुद प्रवर्धन कार्यक्रम अन्तर्गतका देवघाट समाज कल्याण केन्द्र बृद्धश्रममा बसोबास गर्नुहुने जेष्ठ नागरिक बिच विविध खेल प्रतियोगिता सम्पन्न भएको छ।

सो प्रतियोगितामा वृद्धा बुबा आमाको उत्साह पुर्ण सहभागिता रहेको थियो ।परम्परागत खेलकुद अन्तरगत तातो आलु,गठ्ठा र घैटो फुटाई प्रतियोगिता सम्पन्न गरिएको छ । प्रतियोगितामा प्रथम,द्धितिय,तृतीय र सान्तोना हुने आमा बुबालाई नगद सहित सम्मान र अन्य खेलमा सहभागी बुबाआमाहरुलाई पनि सम्मान गरिएको थियो ।कार्यक्रममा युनेस्केका निमित्त नेपाल राष्ट्रिय आयोग सिंहदरबारका सहायक महासचिव एवं सचिवालयका प्रमुख डाक्टर बाबुराम अधिकारी र देवघाट गाँउपालिका–५ वडाअध्यक्ष पुर्ण बहादुर कुबँरले नगद सहित दोसल्लाले सम्मान गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गदैं देवघाट गाँउपालिका–५ वडाअध्यक्ष पुर्ण बहादुर कुबँरले परम्परागत खेलकुदको प्रवर्धनका लागि देवघाट गाँउपालिकाले बार्षिक रुपमा वृद्धबृद्धाहरुलाई सम्मान हुने र रमाइलो खेल सञ्चालन गरिने बताउनुभयो । वडाले समेत आगामी दिनमा वृद्धावृद्धाहरुलाई सम्मान हुने र अन्य कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । साथै परम्परागत खेलकुद प्रवर्धन कार्यक्रमले बृद्धहरुलाई मानसिक,शारीरिक रुपमा पनि थप तन्दुरुस्त बनाउन मद्धत पुग्ने बताउदै लोप हुना लागेका परम्परागत खेलहरु बाट युवा पुस्ताले पनि नयाँ कुरा सिक्न पाउने र हस्तान्तरण समेत हुने युनेस्को सचिवालय सहायक महासचिव डा. बाबुराम अधिकारीले बताउनुभयो । उहाँले देवघाटमा गत वर्ष पनि यस्तै कार्यक्रमको आयोजना गरेको बताउनुभयो साथै आगमि दिनहरूमा यस कार्यक्रमलाई विभिन्न संघ संस्थाहरु संग समन्वय गरि निरन्तरता अगाडी बढ्ने बताउनुभयो। डा.अधिकारीले देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिले देवघाटलाई विश्व सम्पदा सुचिमा राख्नको लागि युनेस्कोमा पहिल्यै निवेदन दिइसकेको जानकारी समेत दिनुभएको थियो भने जेष्ठ नागरिकहरूको लागि एउटा नयाँ गुरू योजना बनाएर अघि बढ्न समेत आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा वडा सदस्य बुद्वि बहादुर पाण्डे, युनेस्को सचिवालय सचिव गोविन्द प्रसाद अर्याल, युनेस्को सचिवालय प्राविधिक अधिकृत पदमराज जोशी, युनेस्को सचिवालय शाखा अधिकृत इन्दिरा बुढाथोकी,देवघाट क्षेत्र समितिका सदस्य विष्णु प्रसाद अधिकारी,देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछाने,वेद वेदाङ्ग विद्यालय गलेश्वर आश्रमका प्राचार्य नन्दराज पाण्डेय, परमानन्द संस्कृत गुरूकुलमका शिक्षक सोमनाथ अर्याल,देवघाट क्षेत्र विकास समितिका योजना प्रमुख किरणराज पौडेल, देवघाट गाउँपालिका शिक्षा शाखा प्राविधिक सहायक सुभद्रा भट्टराई, बृद्वाश्रम व्यवस्थापक देबु अधिकारी र बृद्वाश्रमका जेष्ठ नागरिकहरूको सहभागी रहेको थियोे।





