दाङको तुलसीपुर उपमहानगरपालिकाले घर, आवास, भूउपयोगी तथा बस्ती विकास कार्यक्रम लागू गर्ने

images
  • 68
    SHARES
  • आषाढ १६, २०७९ बिहीबार
    दाङको तुलसीपुर उपमहानगरपालिकाले घर, आवास, भूउपयोगी तथा बस्ती विकास कार्यक्रम लागू गर्ने
    images

    काठमाडौँ 

    दाङको तुलसीपुर उपमहानगरपालिकाले घर, आवास, भूउपयोगी तथा बस्ती विकास कार्यक्रम लागू गर्ने भएको छ । उपहानगरपालिकाले हालै ल्याएको नीति कार्यक्रम र बजेटमार्फत कार्यक्रम लागू गर्ने जनाएको हो ।

    Tulasipur_nagarpalika_Avu69w2obA_20220630140826.jpg
     
    यसअन्तर्गत दाङ जिल्ला, कर्णाली तथा लुम्बिनी प्रदेशका पालिकाको समन्वयमा संघ तथा प्रदेश सरकार, सहकारी, निजी क्षेत्र र समुदायको सहकार्यमा दीर्घकालीन योजनाको रुपमा सुविधा सम्पन्न मिडिसीटी (स्मार्ट सिटी, मेडिकल कलेज, अस्पताल, उद्यान) निर्माणमा सहकार्य गरिने छ । यसका लागि नगरपालिकाले केही रकम समेत विनियोजन गरेको छ । निर्माण भइसकेका घरलाई अनिवार्यरूपमा सूचीकृत गरिने जनाएको छ । नयाँ बन्ने घरलाई नक्शापासको मापदण्डभित्र ल्याइनेछ ।

     

    नक्शापास नगरी घर बनाउने कार्यलाई निरुत्साहित गरिने उपमहानगर प्रमुख टीकाराम खड्काले बताए । उनका अनुसार नक्शापास नगर्ने घरघनीलाई उपमहानगरपालिकाबाट उपलब्ध गराउने सेवासुविधा साथै विद्युत् पानीको सिफारिस समेत कटौती गरिनेछ ।
     
    नगर क्षेत्रका ‘घ’ वर्गका घर तथा अस्थायी निर्माण गरिने संरचनालाई पनि न्यून दरमा नक्शा पासको दायरामा ल्याइने उल्लेख छ । भवन नक्शा पास प्रक्रियामा विद्युतीय प्रणाली अवलम्बन गरी छिटोछरितो सेवा प्रवाहलाई निरन्तरता दिइने बताइएको छ । साथै पुराना मिसिलहरूलाई अनलाइन प्रक्रियामा अद्यावधि गरिनेछ । सोका लागि पनि बजेट विनियोजन गरिएको छ ।

    घर निर्माण गर्दा आकाशे पानी संकलन हुने गरी संरचना निर्माणलाई प्रोत्साहन गरिने बताइएको छ । तुलसीपुर नगर क्षेत्रमा लागू गरी घर नम्बर राख्ने कार्यको सम्भाव्यता अध्ययन गरिनेछ । तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र भू–उपयोग नियमावली २०७९को अवधारणामा जग्गालाई कृषि, व्यावसायिक, आवासीय र औद्योगिक वर्गमा वर्गीकरण गरिने जनाएको छ ।

    नगर क्षेत्रभित्र सम्भाव्यता अध्ययन गरी आधुनिक बस्ती स्थापनाको लागि सम्भाव्यता अध्ययन गरी कार्य थालनी गरिनेछ ।

    सरकारी सार्वजनिक जग्गाको संरक्षणका लागि यस पालिकाभित्रका जग्गाकोे जीआइएस नक्शाङ्कन गर्न डिजिटल अभिलेख तयार गरिने जनाएको छ । आगामी आर्थिक वर्षमा जग्गाविहीन भूमिहीन सुकुम्वासीलाई भूमि समस्या समाधान आयोगसँगको सहकार्यमा लालपुर्जा वितरण गरिने बताइएको छ ।

     

    स्थानीयस्तरमा रहेका वास्तविक सुकुम्वासीको पहिचान एवं व्यवस्थापन गरी गैरसुकुम्वासीबाट अतिक्रमण गरिएको सार्वजानिक जग्गा फिर्ता गराइने छ । भूमि करलाई वैज्ञानिक र प्रभावकारी बनाउनुका साथै राजस्व वृद्धिमा टेवा पुर्‍याउने कार्यक्रम ल्याउने र  पालिकाभित्रका सबै बाटोको लगत कट्टा गरिने उपमहागरपालिकाको सूचना शाखाले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend